एमाले माओवादी एकता झन् झन् पर , प्रचण्डमाथि ओलीको आशंका

काठमाडौं, १३ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता झन् झन् पर धकेलिदै गएको छ । यी दुई पार्टीबीच नयाँ सरकार गठनपूर्व एकता नहुने लगभग निश्चित भएको छ । दुई दलबीच रहेका सैद्धान्तिक मतभेद, संगठनात्मक भिन्नता र नेतृत्वको व्यवस्थापन जटिल बनेपछि एकता पछि धकेलिने देखिएको हो । प्रदेश तथा संघीय संसदको चुनावअघि दुवै दलका नेताले भनेका थिए, ‘चाहना पार्टी एकता नै गरेर एउटै चुनाव चिन्हमा चुनाव लड्ने भन्ने थियो, नभ्याएका कारण अहिलेलाई चुनावी गठवन्धन मात्रै बनेको हो, चुनाव लगत्तै एकता हुन्छ ।’ चुनावपछि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममा पटक–पटक भनेका थिए, ‘सकेसम्म सरकार बन्नु अघिनै, नभ्याए स्पस्ट आधार तयार पारेर एकता र सकार निर्माणको काम समानान्तर रूपमा अघि बढ्छ ।’ स्वस्थ्य परिक्षणका लागि भनेर बैंकक उड्नुअघि विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग भनेका थिए, ‘१५ दिन भित्र पार्टी एकता हुन्छ ।’ ९ दिनपछि फर्कदा पत्रकारको जिज्ञासामा उनले सोधे, मैले १५ दिनपछि एकता हुन्छ भनें र ? नेकपा एमालेका अध्यक्ष ओली पक्षधर भनेर चिनिने महासचिव ईश्वर पोख्रेल सहितका नेताले पटक–पटक भनेका छन्, पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै हुने हो ।’ माओवादीका नेताले भनिरहेका छन, ‘दुई कार्यकारी पद दुई शीर्ष नेताले लिने हो, अध्यक्ष नपाउने हो भने पार्टी एकता हुदैन ।’ सार्वजनिक रूपमा आएका यस्ता अभिव्यक्ति मात्र होइन, दुई दलका विभिन्न स्तरका औपचारिक वैठकमा समेत यही बिषयमा मतभेद देखिने गरेको छ । पार्टी एकताका लागि गहन छलफल र गृहकार्य गर्नुभन्दा पनि सरकार निर्माण र त्यस सम्बन्धी गृहकार्यले गति लिएको छ, यसले गर्दा पार्टी एकता झन् झन् पर धकेलिदै गएको छ ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट धोका हुन सक्ने आशंका गरेका छन् । उनले प्रचण्डबाट धोका हुन सक्ने भन्दै बेलैमा सचेत हुन आफुनिकट नेताहरूलाई सुझाएका छन् । अध्यक्ष ओलीले प्रचण्डबाट आफ्नो नेतृत्वमा बनेको सरकार ढाल्न खेलेको खेलेको भूमिका रहस्यमय रहेको भन्दै कुनै पनि बेला प्रचण्डबाट धोका हुन सक्ने आशंका गरेका छन् । ओलनिकट अन्य नेताहरूले पनि ओलीको आशंकालाई जायज भनेका छन् । प्रचण्डमाथि आंशका व्यक्त गरेका ओलीले प्रचण्डले कुनै पनि बेला धोका दिन सक्ने संकेत पाएमा बेलैमा मधेसी दलसँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव समेत अगाडि सारेका छन् । तर प्रचण्डले धोका दिन सक्ने कुनै पनि संकेत नपाएको खण्डमा भने प्रचण्डसँगको सहकार्यलाई बलियो बनाउनुपर्ने तर्क ओलीको छ । ‘प्रचण्ड नेपाली राजनीतिका चतुर खेलाडी हुन, उनीबाट जतिबेला पनि धोका हुन सक्छ, तपाईंहरूले गहिरो रूपमा कुरा बुझ्नुस्’ ओलीले आदेशात्मक शैलीमा आफ्ना टिमसँग भनेका छन् । प्रचण्डबाट धोका हुन सक्ने आपूmले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट पाएको तर्क ओलीको छ ।
यसैबीच, नेकपा एमालेसँगको एकताको वार्ता निर्णायक तहमा पुगेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट चलाखीपूर्ण निर्णय गराउन सफल भएका छन् । प्रचण्डले चलाखीलाई साथ र समर्थन दिँदै मन्त्रिपरिषद्बाट निर्णय गराइदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले तीनछक परेका छन् । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गर्न प्रचण्डले चलाखीपूर्ण भूमिका निभाएका थिए । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले ०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन नेकपा(माओवादी) बाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि शहीद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । त्यसैगरी द्वन्द्वकालमा मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रह्मदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ ।
यी र यस्ता अनेक घटना क्रमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता झन् झन् पर धकेलिदै गएको छ ।