नेकपा र क्रान्तिकारी माओवादीद्वारा संयुक्त संघर्ष गर्ने उदघोष

२०७४ माघ २५ गते, बिहीबार

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रुपमा संघर्षलाई अगाडि बढाउने निर्णय गरेका छन । दुई पार्टीका शीर्ष नेताहरुले आज एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सो निर्णय सार्बजनिक गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव किरणको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञाप्तिमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिंदै आएका सङ्घर्षका संयुक्त कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडि बढाउनका लागि वामपन्थी, प्रगतिशील, जनतान्त्रिक तथा देशभक्त शक्तिहरुसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणको निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको र तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय लिइएको जनाएको छ ।
यसैगरी विज्ञप्तीमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरुका बीचको एकता अनिवार्य भएकाले यसलाई अगाडि बढाउन आवश्यक पहल गर्ने निर्णय भएको जनाईएको छ । साम्राज्यवादी शासकहरुले आ–आफ्ना दलाल तथा भरौटेहरुको सहयोगमा नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गर्दै आएको भन्दै पछिल्लो समय तराईका बिभिन्न स्थानमा भएको सिमा अतिक्रमण तथा भारतीय बिदेशमन्त्री सामु गरिएको नाङगो दलालीले यसलाई प्रष्ट पारेको बिज्ञप्तीमा उल्लेख छ ।
भारतीय शासक वर्गले १९५०को असमान सन्धि र त्यसपछिका बिभिन्न सम्झौतामार्फ नेपालको जलस्रोत तथा व्यापारिक हस्तक्षेप बढाउनुका साथै सीमा अतिक्रमणगर्ने कार्य पनि जारी राखेको जनाईएको छ । माथिल्लो कर्णाली, अरुण ३ पुनः भारतीय ठेकेदार कम्पनीलाई सुम्पने देउवा सरकारको पछिल्लो निर्णय, बीरगञ्जको छपकैयामा भएको भारतीय सीमा अतिक्रमण, नेपाली सामानलाई भारतीय बजारमा पैठारी गर्न रोक लगाउने लगायतका निर्णयले राष्ट्रिय स्वाधिनतामाथिको खतरा झन बढेको दुई पार्टीको निश्कर्ष छ । खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तुको मूल्य बृद्धि , बेरोजगारी लगायतका समस्या विकराल बनिसक्दा पनि कथित संविधानले उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका समस्यालाई सम्बोधन गर्न नसकेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ , यी समस्यालाई अब बन्ने भनिएको सरकारले पनि सम्बोधन गर्न सक्दैन । यो कुरा केही दिन अगाडि भारतीय परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गरेको बेला कथित बामगठबन्धनका नेताहरुले देखाएको निकृष्ट दलालीको रवैयाबाट प्रस्ट हुन्छ । वाम एकता ,वाम गठबन्धन, वाम सरकार र समाजवादको आकर्षण नारा दिएर चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सफल एमाले माके गठबन्धनले जनतालाई धोका दिँदै सत्ताका लागी बिदेशीको दलाली गरिरहेकै बेला त्यसलाई चुनौति दिदै क्रान्तिकारी कम्युनिष्टहरुको यो निर्णय बाहिर आएको हो ।
दुई पार्टीबीचको सहमती र कदमलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने साहशिक कदमको रुपमा हेरिएको छ । साथै दुवै पार्टीले क्रान्तिकारी धुर्वीकरण एवं एकताको प्रकृयामा सहभागी हुने क्रान्तिकारीसंग मिलेर आगामी जनयुद्ध दिवस र शहीद सप्ताहलाई केन्द्र र विभिन्न जिल्लाहरुमा संयुक्त रूपमा मनाउने निर्णय गरिएको छ । राष्ट्रियता र जनविविकाका मुद्धमा गरिने सङघर्षमा सबै श्रमिक, किसान लगायतका वर्ग र जनसमुदायलाई सहयोग र सहभागिता जनाउन पनि दुई पार्टीले आह्वान गरेका छन ।
यस बिषयमा दुई पार्टीका शीर्ष नेताहरुले आज जारी गरेको संयुक्त प्रेस वक्तव्य यस प्रकार रहेको छ – “हालै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुका बीचमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले निकालेका निष्कर्षहरु निम्नानुसार रहेका छन् ः
१) कथित संविधानको कार्यान्वयनको सन्दर्भमासंसदवादी दलहरुले तीनै तहका निर्वाचनद्वारा नेपालमा प्रतिक्रान्ति पुरा गर्ने धृष्टता गरी राखेका छन । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याहरु थप गम्भीर बनेका छन् । यो स्थितिले राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरुका बीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निष्कर्ष सही सावित भएको छ र यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।
२) साम्राज्यवादी शासकहरुले आ–आफ्ना दलाल तथा भरौटेहरुको सहयोगमा नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गर्दै आएका छन् । यो प्रक्रियामा मुख्यतः भारतीय शासक वर्गले १९५०को असमान सन्धि र अन्य विविध सम्झौताहरुमार्फत् नेपाली जलस्रोतमाथिको हस्तक्षेप, सीमा अतिक्रमण र व्यापारिक हस्तक्षेप बढाउँदै लगेको छ । माथिल्लो कर्णाली, अरुण ३ पुनः भारतीय ठेकेदार कम्पनीलाई सुम्पने देउवा सरकारको पछिल्लो निर्णय, बीरगञ्जको छपकैयामा भएको भारतीय सीमा अतिक्रमण, नेपाली सामानलाई भारतीय बजारमा पैठारी गर्न रोक आदि कुराले स्थितिलाई अरु गम्भीर बनाएको छ । खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तुको मूल्य आकासिँदो छ । बेरोजगारीका समस्या विकराल छन् र कथित संविधानले उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका समस्यालाई सम्बोधन गरेको छैन । यी समस्यालाई अब बन्ने भनिएको सरकारले पनि सम्बोधन गर्न सक्दैन । यो कुरा केही दिन अगाडि भारतीय परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गरेको बेला कथित बामगठबन्धनका नेताहरुले देखाएको निकृष्ट दलालीको रवैयाबाट प्रस्ट हुन्छ । यस स्थितिमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिंदै आएका सङ्घर्षका संयुक्त कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडि बढाउनका लागि वामपन्थी, प्रगतिशील, जनतान्त्रिक तथा देशभक्त शक्तिहरुसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणको निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको छ । साथै तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय लिइएको छ ।
३) दुवै पार्टी र क्रान्तिकारी धुर्वीकरण एवं एकताको प्रकृयामा सहभागी हुने क्रान्तिकारीसंग आगामी जनयुद्ध दिवस र शहीद सप्ताहलाई केन्द्र र विभिन्न जिल्लाहरुमा संयुक्त रूपमा मनाउने निर्णय गरिएको छ ।
माथि उल्लेख गरिएका विषयमा सहभागिता जनाउन र सहयोग तथा समर्थन गर्नका लागि हामी श्रमिक, किसान लगायतका वर्ग र जनसमुदायलाई विशेष आह्वान गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]