आज तेइसौं जनयुद्ध दिवस ( सैद्धान्तिक प्रतिबद्धताहरूसहित )

काठमाण्डौ , १ फागुन । आज फागुन एक गते अर्थात जनयुद्ध दिवस । तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २३ औं जनयुद्ध दिवस मनाउँदैछन । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् । नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको तत्कालिन माओवादीले २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो । रोल्पाको होलेरी,रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धमा गरिब,किशान,मजदुर ,उत्पीडित जाति , छेत्र,लिङ्ग र समुदायले आफ्नो मुक्तिको सपना देखेर लामबद्ध बनेका थिए ।
१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । हजारौंको संख्यामा नागरिक वेपत्ता छन् । तर, विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् । बार बुदे सम्झौता हुँदै शान्ती प्रक्रिया पछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन ।
बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवश मनाएका नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीले यसपटक संयुक्त रुपमा जनयुद्ध दिवश मनाउने तयारी गरेका छन् । तत्कालिन माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरिएपनि नयाँ जनवादी राज्यसत्ताको स्थापना हुन नसकेको भन्दै दुई पार्टीले यो दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउने तयारी गरेका हुन् ।
सो अवसरमा भोली मध्यान्ह साढे १२ बजे राष्ट्रियसभा गृहमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य , नेपाल कम्य’निष्ट पार्टीका प्रवत्ता प्रकाण्डलगायतका शिर्ष नेताहरुले संबोधन गर्ने बताइएको छ । साथै पछिल्लो समय माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको भन्दै असन्तुटि जनाएमा माओवादी नेताहरु गेपाल किराती , लोकेन्द्र विष्ट लगायतले पनि सहभागीता जनाउने बताईएको छ ।
जनयुद्ध सुरु गर्दा नेकपा ( माओवादी) ले जारी गरेको सैद्धान्तिक प्रतिबद्धताहरू :
क) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजेय मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
ख) जनयुद्धको थालनीको हाम्रो यो योजना “राज्यसत्ताबाहेक अरू सबै भ्रम हो” भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ ।
ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्णरूपले मुक्त रहने छ ।
घ) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा मार्क्सवाद-लेनिनवाद-माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पुर्याउने उने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
च) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष संचालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवि जनससमुदाय मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
छ) युद्धमा आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको “क्रान्ति आफैँले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढङ्गले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँ ।