‘नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प छैन’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले देशको वर्तमान समस्या समाधान गर्न नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन । उनले जनता टेलिभिजनको बिशेष समयसंगको अन्तर्वार्तामा सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले चाहेको जस्तो जनताको पक्षमा संबिधान बन्न नसकेको बताउँदै यो संविधानले निर्देशित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले देश र जनताको प्रतिनिधित्व गर्न नसकेकोले देश डर लाग्दो संकटमा परेको बताए। उनले भने– हामीले त्यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रको जामा पहिराएर १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मुद्दाविरुद्ध देशी–विदेशी प्रतिक्रियावादी लागेर षड्यन्त्र गर्दै छन् भनेका थियांै, जुन अहिले पुष्टि भएको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले हाल केही मानिसहरुले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको अपमान गर्ने मुर्खता गरिरहेको बताउँदै यो दलालिकरणको हद भएको बताए । उनले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले निरंकुश राजतन्त्र अन्त्य गरेको बताउँदै उक्त आन्दोलनविरुद्ध विषवमन नगर्न चेतावनी समेत दिए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रको अन्त्य भएपछि जनतालाई शासनमा ल्याउने संविधान नलेखिएकै कारण देश संकटको भुमरीमा फसेको बताए । उनले अब नेपालमा क्रान्ति र परिवर्तन चाहने, देशको विकास र सम्बृद्धि चाहने राजनीतिक दल, नेता र कार्यकर्ताले दलाल पूँजीवादको अन्त्य गरेर त्यसको ठाँउमा नेपाली जनताको प्रतिनिधित्व हुने नेपाली विशेषताको समाजवादी व्यवस्थाको स्थापना गर्नुको विकल्प नभएको समेत बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले संविधान संशोधनको कुरा सैद्धान्तिक तवरले ठिकै भए पनि यो संविधानवाट देश र जनताको मुक्ति सम्भव नहुने बताए । उनले नयाँ तरिकाले नेपाली जनताको संविधान लेख्नुको विकल्प नभएको बताउँदै संविधान, व्यवस्था र नेतृत्व नयाँ भए मात्र देश र जनताको मुक्ति सम्भव हुने बताए। उनले भने– ‘१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको लक्ष्य निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै त्यसको ठाउँमा नेपाली जनताको जनवादी व्यवस्था स्थापना गर्नु थियो तर त्यसो हुन सकेन र दलालीहरुको गणतन्त्र स्थापना हुन पुग्यो । जुन गणतन्त्रले लुटवादी, कमिशनखोरहरुलाई मालामाल बनाएको छ । उनीहरुको निम्ति स्वर्ग भएको छ भने नेपाली जनताहरुको हालत दिनप्रतिदिन खराब हुँदै गएको छ । हिजोको राज्य व्यवस्थामा उत्पीडन र विभेदमा परेका जनताहरुको अवस्था ज्यूँकात्यूँ छ । त्यसैले वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदवादी दल र तिनका नेताहरुको नेतृत्व परिवर्तन गरी नेपाली विशेषताको समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’