वाइम्याक्स बिक्री सुरु
काठमाडौँ । नेपाल टेलिकमले गतबुधबारदेखि उपत्यकाभित्र ६ ठाउँबाट र्सवसाधारणलाई उच्च गतिको बेतारे इन्टरनेट सेवा वाइम्याक्स बिक्री सुरु गरेको छ । टेलिकमले दुइटा आफ्ना काउन्टर र चारवटा निजी क्षेत्रको साझेदारीमा सञ्चालित सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु गरेको हो । कम्पनिले उपत्यकाभित्र आफ्ना सुन्धारा र जावलाखेल काउन्टरबाट वाइम्याक्स बिक्री सुरु गरेको छ । एयरम्याक्स टेक्नोलोजी प्रालिले पुतलीसडक र बानेश्वर एवं युनिटेक नेर्टवर्क प्रालिले दरबारमार्ग र कुपण्डोलमा सञ्चालन गरेका सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु भएको हो । कम्पनिले उपत्यकाबाहिर पनि आफ्ना काउन्टरबाट गतबुधबारदेखि नै वाइम्याक्स बिक्री सुरु गरेको छ । व्यावसायिक र संस्थागत उपभोक्ताका लागि गत मंसिरदेखि वाइम्याक्स वितरण गरेको टेलिकमले बुधबारबाट मात्र र्सवसाधारण ग्राहकलाई बिक्री सुरु गरेको हो । गतबुधबारै उपत्यकाका चार ठाउँमा निजी क्षेत्रले टेलिकमका सेवा केन्द्र सञ्चालनमा ल्याएका छन् । अन्य दूरसञ्चार सेवा प्रदायकले यस्ता सेवा केन्द्र पहिलेदेखि नै सञ्चालनमा ल्याए पनि टेलिकमले भने पहिलो पटक निजी क्षेत्रको सहकार्यमा सेवा केन्द्र खोलेको हो । टेलिकमले सञ्चालन गरेको वाइम्याक्स इन्टरनेट सेवा हालसम्मका इन्टरनेट प्याकेजको तुलनामा सबैभन्दा सस्तो भएको दाबी गरेको छ । कम्पनिले हाल भोलुम बेस -चलाएको आधारमा रकम काटिने) प्याकेजमा वाइम्याक्स सुरु गरेको हो । उपभोक्ताले एक महिना, तीन महिना र एक वर्षो प्याकेज किन्न सक्नेछन् । उपभोक्ताले सबैभन्दा सस्तोमा ५ गिगाबाइट-जिबी) डाटासहित २ सय ५६ किलोबिट्स प्रति सेकेन्ड-केबिपिएस) गतिको इन्टरनेट प्याकेज ६ सय ५० रूपैयाँमा लिन सक्नेछन । वाइम्याक्स इन्टरनेट सेवा चलाउन उपभोक्ताले युएसबी डंगोल, मोडेम वा कस्टमर प्रिमिसेस इक्युपमेन्ट -सिपिई) किन्नुपर्छ टेलिकमले हाल यी उपकरण बन्डलिङ गरेर वाइम्याक्स बिक्री गरिरहेको छ । ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन युएसबी डंगोल वा मोडेम उपयुक्त हुन्छ भने धेरैवटा कम्प्युटरमा इन्टरनेट चलाउन भने सिपिई आवश्यक पर्छ घरायसी प्रयोगकर्ताका लागि डंगोल र मोडेम नै उपयुक्त हुने टेलिकम अधिकारीहरू बताउँछन् । यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ । अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुइ किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ । युएसबी डंगोलको मूल्य ५ हजार र मोडेमको मूल्य ७ हजार रूपैयाँ पर्छ सिपिईको मूल्य भने बढी हुन्छ । टेलिकमले इनडोर सिपिइको १२ हजार र आउटडोर सिपिईको २० हजार पर्ने जनाएको छ । टेलिकमले हाल उपत्यकासहित मुलुकका १३ अञ्चलका ४९ जिल्लामा वाइम्याक्स सेवा विस्तार गरिसकेको छ ।