युट्युब नवौं वर्षमा

काठमाडौ, – सन् २००५ को अप्रिल २३ का दिन युट्युबमा पहिलो पटक भिडियो अपलोड गरेको युट्युबले आठ वर्ष पूरा गरेको छ। पहिलो पटक ‘मी एट द जु’ शीर्षकको भिडियो यसका संस्थापकमध्येका एक जावेद करिमले अपलोड गरेका थिए।गुगलले सन् २००६ मा १ दशमलव ७६ अर्ब अमेरिकी डलरमा युट्युब किनेको हो। त्यतिबेला यसका प्रयोगकर्ता ३ देखि ४ करोडको हाराहारीमा थिए। अहिले प्रत्येक महिना १ अर्ब भन्दा बढी प्रयोगकर्ताले यसको प्रयोग गरिरहेका छन्।युट्युबमा ६१ भाषामा भिडियो अपलोड हुन्छन्। पछिल्लो समयमा मोबाइलमार्फत युट्युब भिडियो हेर्नेहरूको संख्या बढ्दै गएको छ। केही समयअघि मात्र युट्युबका नियमित प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको गुगलले जानकारी दिएको थियो। युट्युबको लोकप्रियताले गुगललाई आम्दानीको नयाँ भरपर्दो माध्यम समेत प्राप्त भएको छ। गुगलले युट्युबमार्फत विज्ञापनसमेत गर्ने गरेको छ ।