टेलिकमका सेवामा भारी छुट

२०७० बैशाख ३० गते, सोमबार


काठमाडौँ, । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस २०१३ का उपलक्ष्यमा नेपाल टेलिकमले आफ्ना सेवाअन्तर्गतका महसुल दरमा भारी छुट दिएको छ ।टेलिकमका सहप्रवक्ता राजेश जोशीका अनुसार डाइल अप सेवातर्फ अनलिमिटेड प्याकेज प्रतिमहिना रु २०० र राति सोही सेवा मासिक रु १०० मा प्रयोग गर्न सकिन्छ । त्यस्तै आइएसडिएन डायल अप सेवातर्फ ६४ केबिपिएस प्रतिमहिना रु २०० र १२८ केबिपिएसको रु ४०० प्रतिमहिना शुल्क तोकिएको छ ।त्यस्तै हाल एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध ग्राहकले एकमुष्ट न्यूनतम तीन महिना वा सोभन्दा बढी अवधिका लागि खरिद गरेमा तीन महिनासम्म थप ४० प्रतिशत बोनसका रूपमा उपलब्ध गराइने टेलिकमको भनाइ छ । त्यसमा वाइम्याक्स सेवातर्फ २५६ केबिपिएस क्षमतामा रु एक हजार ५०० तिर्दैआएका ग्राहकले सो शुल्कको ३० प्रतिशत छुट पाउने भएका छन् भने दुई एमबिपिएस क्षमताको प्याकेजलाई भने हाल विभिन्न शैक्षिक संस्था, अस्पताल, सरकारी तथा अर्धसरकारी निकायमा उपलब्ध गराइने लक्ष्य राखेको छ ।
यसैगरी अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा लिएका ग्राहकले २५६ केबिपिएस क्षमताका लागि रु दुई हजार ५०० तिर्नुपर्ने भएको छ । सोको शुल्क यसअघि रु पाँच हजार थियो । पाँच सय १२ केबिपिएस क्षमताका ग्राहकले रु पाँच हजार, एक एमबिपिएसदेखि चार एमबिपिएससम्म प्रयोग गर्ने ग्राहकले रु आठ हजार मात्रै तिरे हुने भएको छ । यसअघि सो सेवा लिने ग्राहकले रु १५ हजार तिर्नुपथ्र्याे ।त्यसैगरी इभिडिओ र पिडिएसएन सेवा लिने ग्राहकलाई प्रतिएमबी ५० पैसा कायम गरिएको छ । सो सेवाको हालसम्मको विद्यमान महसुल दर प्रतिएक सय किलोवाइटको १० पैसा रहँदैआएको थियो । सो सेवा सिडिएम तथा स्काई सेवाअन्तर्गत उपलब्ध गराउने छ । त्यसैगरी थ्रिजी तथा जिपिआरएस सेवाका लागि पनि सोही दर कायम गरिने र केही दिनभित्र लागू गरिने बताइएको छ । आगामी जेठ ३ गतेदेखि सो सुविधा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]