टेलिकमको नाफा १५.७ प्रतिशतमा सिमित

२०७० जेष्ठ २ गते, बिहीबार

काठमाडौं, – नेपाल टेलिकमको नाफा आव ०६८/६९ को सोही अवधि तुलनामा १५.७ प्रतिशतले घटको छ / टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८ अर्ब ४९ करोड ७७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो । ०६८/६९ को चैत मसान्तसम्म कम्पनीले १० अर्ब ८ करोड १० लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।टेलिकमले प्रकाशित गरेको तीन महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा सेवा प्रदानबाट हुने आम्दानी बढे पनि अन्य क्षेत्रबाट हुने अम्दानी घटेको देखिएको छ ।कम्पनीका सहायक प्रवक्ता राजेश जोशीले अनुमतिपत्र नवीकरणबापत ठूलो रकम भुक्तानी तिरेकाले खुद नाफामा असर गरेको बताए । यो वर्ष चैत मसान्तसम्ममा टेलिकमले २५ अर्ब २७ करोड ३६ लाख रुपैयाँ सेवाबापत आम्दानी गरेको छ । गत आवको सोही अवधिमा यो रकम २२ अर्ब ३९ करोड ७७ लाख रुपैयाँमात्र थियो ।यसबाहेक तेस्रो त्रैमाससम्ममा टेलिकमका अन्य आम्दानी शीर्षकमा भने १ अर्ब ७० करोड २७ लाख रुपैयाँ कमी आएको छ । अन्य क्षेत्रबाट कम्पनीले चैतसम्म २२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमले अन्य क्षेत्रबाट २४ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन तथा मर्मत सम्भार खर्च ४ अर्ब ८ करोड १९ लाख रुपैयाँ छ । यो खर्च गत आवको सोही अवधिमा ३ अर्ब ३९ करोड १५ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीको प्रशासनिक खर्चसमेत बढेको छ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ । यो खर्च गत आवको सोही अवधिमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ थियो ।कम्पनीको ग्रामीण दूरसञ्चार विकास कोष भने बढेको प्रतिवेदनले देखाएको छ । कोषमा टेलिकमले ५० करोड ५४ लाख रुपैयाँ जम्मा गरेको छ । गत वर्ष यो रकम ४४ करोड ७९ लाखमात्र थियो । चालू आवको पुस मसान्तसम्ममा यो कोषमा ३ अर्ब ३६ करोड रुपैयाँ थियो ।
टेलिकमले पुस मसान्तसम्ममा मात्र आयकरबापत ३ अर्ब ४ करोड ६३ लाख रुपैयाँ छुट्ट्याएको छ । गत आवको सोही अवधिमा कम्पनीले आयकरका लागि ३ अर्ब ४० करोड १५ लाख रुपैयाँ छुट्ट्याएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी भने घट्दो क्रममा छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ९६.८३ रुपैयाँ थियो । पुस मसान्तसम्ममा घटेर ७४.०८ रुपैयाँमा झरेको थियो । तेस्रो त्रैमासमा पनि कम्पनीको प्रतिसेयर आम्दानी घटेर ७४.५४ रुपैयाँमा पुगेको छ । गत आवको चैत मसान्तसम्ममा ९९.६१ रुपैयाँ थियो ।
टेलिकमको मूल्य आम्दानी अनुपात भने ७.७४ प्रतिशत छ । जबकि, गत आवको सोही अवधिमा यो अनुपात ४.६२ प्रतिशत थियो ।असोज मसान्तसम्म ४२९.९५ रुपैयाँ प्रतिसेयर किताबी मूल्य रहे पनि पुस मसान्तसम्म ३६६.८७ मा झरेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ३३८.४८ मा पुगेको छ ।
टेलिकमले ०६५/६६ मा सेयरधनीलाई ३५ प्रतिशत, ०६६/६७ मा ४० र ०६७/६८ मा ४५ प्रतिशत लाभांश दिएको थियो । ०६८/६९ को नाफाबाट उसले सेयरधनीलाई ४८ प्रतिशत नगद लाभांश दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]