छालाबाट भ्रुणकोष तयार
काठमाडौं ।अमेरिकी अनुसन्धानकर्ताहरूले मानव छालाकोषलाई भ्रुणकोषमा परिवर्तन गर्न सकिने दावी गरेका छन् । उनीहरुले यस्तो उपलब्धी हाँसिल गरिसकेको दावी गरेका हुन् ।
ओरेगन विश्वविद्यालयका वैज्ञानिकहरूले यस अनुसन्धानबाट मानव शरीरको एक प्रकारको कोषबाट शरीरको अर्को प्रकारको कोष विकास गर्न गर्भकै कोष आवश्यक नपर्ने देखिएको र यो निकै महत्वपर्ूण्ा भएको बताए ।
ओरेगन नेसनल प्राइमेट रिर्सच सेन्टरका शौखरात मिटालिपोभले यस प्रविधिमा व्यक्तिको डीएनएलाई आनुवांशिक सामग्री हटाइएको डिम्ब कोषमा प्रतिस्थापन गर्ने स्पष्ट पारे । यस विधिलाई सोमाटिक सेल न्युक्लियर ट्रान्सफर भनिएको छ ।
यस विधिबाट अन्य कोषबाट प्राप्त भएको मूल कोषलाई पुनः स्नायुकोष तथा मुटुकोष जस्ता अन्य कोषमा परिवर्तन गर्न सकिने मिटालिपोभले बताए ।
सन् १९९६ मा बेलायतमा डली भेडाको जन्म भएपछि हालसम्म अनुसन्धानकर्ताहरूले बोका तथा खरायो जस्ता २० प्रजातिमा यस्तै क्लोन जन्माएका छन् । यस अनुसन्धानले अब मानिसमा पनि सफलता हात पारेको अनुसन्धान कर्ताहरुको दावी छ ।