डाटा सेन्टर बन्ने
काठमाडौँ । हेटौँडामा -एकीकृत डाटा सेन्टर निर्माण हुने भएको छ । सरकारी तथा गैरसरकारी तथ्यांकको संग्रहालय डाटा सेन्टर निर्माण गर्न कोरिया र नेपाल सरकारबीच मंगलबार सम्झौता भएको छ । हेटौँडा-४ स्थित लोकतान्त्रिक चौर नजिक रहेको १० कठ्ठा जमिनमा डाटा सेन्टर निर्माण गर्न लागिएको हो । करिब ४३ करोडको लागतमा निर्माण हुने डिजास्टर रिकभरी सेन्टरको परियोजना कार्यान्वयन कोरिया सरकारको तर्फाट कोइका र नेपाल सरकारका तर्फाट राष्ट्रिय सूचना प्रविधि केन्द्रले गर्ने सम्झौतामा उल्लेख छ । कुनै पनि प्राकृतिक प्रकोप तथा मानव सिर्जित प्रकोपबाट सरकारी विद्युतीय सूचनाहरू ब्याकअप पद्धतिबाट सुरक्षित राख्न डाटा सेन्टर निर्माण गर्न लागिएको सूचना प्रविधि केन्द्रका निर्देशक अनुप बाँस्कोटाले बताए । सरकारका विभिन्न निकायहरूबाट तयार भएका इ-सेवाहरूलाई जीआईडीसीबाट मात्र सञ्चालन भइरहेको अवस्थामा सेवा प्रवाहमा कुनै समस्या आए हेटौंडामा निर्माण गरिएको डाटा सेन्टरबाट सेवालाई निरन्तरता दिन सकिने उनले बताए । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट इ-प्रोक्युरमेन्ट, विद्युत्ीय हस्ताक्षर, इ-कस्टमलगायत इ-सेवा सञ्चालन हुने छन् । यो सिंहदरबारको डाटा सेन्टरको ब्याकअपका रूपमा रहने छ । सिंहदरबारको डाटा सेन्टर पनि कोरियाकै सहयोगमा निर्माण गरिएको हो ।