आज ‘सूपर मून’
काठमाडौं, असार ९ – आज पूर्णिमाको रात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ ।
खगोलीय भाषामा सूपर मून भनिने यस्तो अवस्थामा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने भएकाले ठूलो र चम्किलो देखिनेछ ।खुला आँखाले हेर्दा भने खासै फरक नदेखिने खगोलविद्हरुले बताएका छन् । चन्द्रमा पृथ्वीको नजिक आउँदा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिनेछ ।पृथ्वीलाई चन्द्रमाले अण्डाकार कक्षबाट परिक्रमा गर्ने भएकाले कहिले नजिक र कहिले टाढा पुग्ने हुन्छ । यसरी नजिक आउने क्रममा यो वर्ष ३ लाख ५६ हजार ९ सय ९१ किलोमिटरको दूरीमा रहनेछ ।
अर्को सुपर मून आउँदो महिना हुने भएपनि आजको जति नजिकको दूरी यो वर्षकै कम हुने नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताए । उनका अनुसार वर्षकै लामो दिनको अर्थात् जुन २१ को आसपास सूपर मूनको अवस्था पनि निकै कम मात्रै हुने गरेको छ ।
यसअघि सन् २०१२ मे ६ तारिखमा सूपर मूनको अवस्थामा चन्द्रमा पृथ्वीको ३ लाख ५६ हजार ९ सय ५५ किलोमिटर नजिक आएको थियो । सन् २०१४ मा भने अझै नजिक अर्थात् ३ लाख ५६ हजार ८ सय ९६ किलोमिटर नजिक आउने अनुमान छ ।चन्द्रमा पृथ्वीको नजिक आउँदा समुद्रमा ज्वारभाटा उठ्ने भएपनि अरु क्षेत्रमा भने कुनै पनि असर नगर्ने खगोलविद्हरुले बताएका छन् ।