अनाबस्यक एसएमएस रोक्ने तयारी

२०७० श्रावण २७ गते, आईतवार

काठमाडौं, २७ साउन – उपभोक्ताको मोबाइलमा नचाहिँदा एसएमएस आउन थालेपछि नियामक दूरसञ्चार प्राधिकरणले त्यसलाई रोक्ने तयारी थालेको छ । विभिन्न मोबाइल सेवा प्रदायकका ग्राहकले उजुरी गरेपछि यस्ता सेवाबारे प्राधिकरणको चासो बढेको हो ।पठाउने व्यक्ति/संस्थाको जानकारी नखुलेका, सरोकारै नभएका र सबै जानकारी उपलब्ध नगराउने एसएमएसबाट ग्राहकले दुःख पाउन थालेपछि नियामकको ध्यान तानिएको हो । ‘म्यासेजबाटै नचाहिँदा भिडियो क्लिपको लिंक आउनेबारे गुनासो आएको छ,’ प्राधिकरणका उपनिर्देशक अर्जुन घिमिरेले भने । यसबारे आगामी साताभित्र मोबाइल सेवा प्रदायकसँग छलफल गर्ने योजना प्राधिकरणको छ । ‘के कारणले यस्ता एसएमएस आएको हो भन्नेबारे छलफल गर्छौं । त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।
पछिल्लो समय विभिन्न कम्पनीका उत्पादनका साथै प्रतियोगितासम्बन्धी एसएमएस मोबाइलमा आउने क्रम बढेको छ । ग्राहकको कुनै सरोकार नभए पनि विज्ञापनका रूपमा यस्ता एसएमएस आउँछन् । कतिपय भोट मागेर पनि आउने गरेका छन् । यस्ता एसएमएस गर्दा लाग्ने शुक्लबारे भने ग्राहकलाई जानकारी दिइएको हुँदैन ।
यससँगै अन्तर्राष्ट्रिय नम्बरबाट समेत विभिन्न प्रतियोगिता जितेको भन्दै पुरस्कार दाबी गर्न एसएमएस आउन थालेका छन् । यस्ता अधिकांश एसएमएस रकम माग्न आउने गरेका छन् । वेभसाइटको प्रचार गर्न वा डाउनलोड गर्न उत्प्रेरित गर्ने एसएमएस पनि आउने गर्छन् ।मोबाइल सेवा प्रदायक कम्पनी भने यस्ता गुनासो ग्राहकबाट नआएको बताउँछन् । ‘एसएमएसबारे यस्ता गुनासो आएको छैन,’ नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, ‘एसएमएसका विभिन्न सेवा उपलब्ध गराउने तेस्रो पक्षबाट यस्तो भएको हुनसक्छ ।’ कतिपय नम्बर दूरसञ्चार प्रदायक कम्पनीले अन्यलाई उपलब्ध गराएका हुन्छन् । निश्चित उद्देश्यका लागि उपलब्ध गराइएको यस्ता नम्बरबाट जाने/आउने सबै एसएमएसबारे दूरसञ्चार कम्पनीलाई जानकारी नहुन सक्छ । ‘हामी यसबारे आफ्ना ग्राहकसँग छलफल गर्नेछौं,’ उनले भनिन् ।

प्रतिक्रियाहरु

[anycomment]