स्वचालित गाडी बनाउँदै गुगल
काठमाडौ -स्वचालित अर्थात आफै गुड्ने गाडी बनाउन जर्मन कम्पनी कन्टिनेन्टल एजीले गुगल र आइबीएमसँगको सम्झौतालाई अन्तिम रुप दिन लागेको छ ।
गुगलले सन् २०१० देखि चालकविहीन गाडी गुडाउने प्रविधि विकासमा काम गर्दै आएको छ। जर्मनीको पत्रिका ‘डेली फ्राङकफर्ट एल्जेमिने जीटुङ’ ले स्रोत उल्लेख गर्दै कन्टिनेन्टलले सेप्टेम्बरमा फ्र्याङ्कफर्टमै आयोजना हुने कार प्रदर्शनीका बेला यो सम्झौता सार्वजनिक गर्ने समाचार प्रकाशन गरेको छ ।
कन्टिनेन्टलले स्वचालित गाडीका लागि अमेरिकी नेटवर्किङ कम्पनी सिस्कोसँग यसअघि नै साझेदारी प्रक्रिया थालिसकेको छ। कन्टिनेन्टलका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । जीएम, फोर्ड, टोयोटा, फक्सवागेनले पनि कम्प्युटर नियन्त्रित प्रविधिसहित कार निर्माण गरिरहेका छन् । चालकलाई सडक दुर्घटनाबाट जोगाउन यो प्रविधिले सघाउने उनीहरुको विश्वास छ ।- एजेन्सी