बसन्तले बनाए हेलिकप्टर
भक्तपुर, १४ भदौ – भक्तपुर बस्ने रामेछापको मेगर्पा पिङ्खुरी गाविस ८ का २७ वर्षका बसन्त श्रेष्ठले आठ महिना लगाएर हेलिकप्टर बनाएका छन् ।
श्रेष्ठले बनाएको साढे २ मिटर लामो ४ फिट फराकिलो र २ सय किलो वजन भएको हेलिकप्टर शुक्रबार परीक्षण उडान गरिएको छ ।आठ महिनादेखि ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले हेलिकोप्टर बनाएर ताथलीको अग्लो ठाउँबाट परीक्षण गरेका हुन् । मोटरसाइकलमा प्रयोग हुने १२५ सिसीको दुईवटा इन्जिन जडान गरेर बनाइएको ‘एभरेष्ट कोप्टर बीएस १—९८’ नामको हेलिकप्टरमा २ जनासम्म बस्न मिल्छ । यसमा १० लिटर पेट्रोल अटाउने ट्याङ्की पनि छ । सयौ स्थानीय वासिन्दा र पत्रकारहरुका अगाडि हेलिकप्टरलाई करिब १ फिट माथि उडाइएको थियो । हेलिकोप्टर बनाउनका लागि करिब पाँच लाख ५० हजार रुपैयाँ खर्च लागेको बसन्तले बताए । ‘पहिलादेखि नै म हेलिकप्टर र हवाइजहाज देखेर दंग पर्थे, त्यसैले पाइलट पढेर जहाज उडाउने मन थियो, आर्थिक अभावले पाइलट पढ्न पाइन, तर आज हेलिकप्टर बनाएर उडाउन सफल भए’ उनले भने ।अहिलेसम्म हेलिकप्टर र हवाइजहाज चढ्नसम्म नपाएका बसन्तले अध्ययन कै भरमा यो सफलता पाएको दाबी गर्छन । ‘यो मोटरसाइकलको इन्जिन जडान गरिएको सामान्य हेलिकोप्टर हो, अबको डेढवर्षमा टर्वाइन इन्जिन जडान गरेर ठूलो हेलिकप्टर बनाउँछु’ उनले भने ।
२०६० सालमा एसएलसी पास गरेपछि उनले काठमाडौको गुरुकुल ओपन स्कुलबाट आइएस्सीको अध्ययन सिध्याए । ‘पाइटल भएर हवाई जहाज उडाउन चाहन्थे, त्यसैले सिवानी एयरमा सबै परीक्षामा नाम पनि निकालेँ तर परिवारको आर्थिक क्षमताले नभ्याउने भएपछि किताबी ज्ञानका भरमा हेलिकप्टर बनाउन जुटेँ, आज सफल भएँ’ बसन्तले बताए ।
सुरुमा उनले हेलिकप्टर बनाउन लागेकोबारे कसैलाई पनि जानकारी दिएका थिएन । ‘पैसा थिएन, साथीहरुसंग ब्यापार गर्नुपर्यो भनेर ऋण लिएर एकान्त ठाउँमा कोठा भाडामा लिएर हेलिकप्टर बनाउन थाले, साथीहरुले एकहप्ता अघि मात्रै थाहा पाए, आमाबुबालाई त हिजो मात्र फोन गरेर भनेको हुँ’ श्रेष्ठले भने ।
सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको सफलताबाट परिवार र आफन्त मात्र दंग र खुसी छैनन्, इथाचाका स्थानीयहरु पनि छक्क परेका छन् । बाबुआमाले फोनबाटै राम्रो गरेस भनेर आर्शिवाद दिएको बताउदै बसन्तले सरकारी तथा गैर सरकारी निकायबाट सामान मात्रै उपलब्ध गराए नेपाल मै ठूला हेलिकप्टर र हवाइजहाज बनाइदिने दाबी गरे ।‘के गर्न लागेको भन्दा सामान्य कुरा हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछ’ स्थानीय होम श्रेष्ठ भने । हेलिकप्टरको परीक्षण उडान हेर्नका लागि ताथलीका मात्र नभई बिभिन्न स्थानबाट मानिसहरु आएका थिए । यो हेलिकोप्टर एक्जाइल प्रविधिबाट सञ्चालन हुने भएकाले यस्तो प्रबिधि नेपाल मै पहिलो भएको बसन्तको दावी छ ।