माइक्रोफिल्मिङ गरिएका अभिलेखलाई डिजिटल प्रविधिमा राखिने

२०७१ असार १४ गते, शनिबार


काठमाडौँ, १४ असार । राष्ट्रिय अभिलेखालयले माइक्रोफिल्मङ (शुक्ष्म छवीकरण) गरिएका वस्तुहरूलाई डिजिटल प्रविधिमा राख्ने तयारी गरेको छ ।लगभग नौ हजारको सङ्ख्यामा रहेका नेपालका अतिप्राचीन अभिलेखीय ग्रन्थ तथा वस्तुको दीर्घकालीन संरक्षणका लागि सन् १९७० यता माइक्रोफिल्मिङ गरिएकामा ती माइक्रोफिल्मिङ गरिएका वस्तुहरूलाई डिजिटल प्रविधिमा राख्न लागिएको हो ।समयको मागसँगै माइक्रोफिल्मिङ गरिएका वस्तुहरूलाई सजिलै अध्ययन गर्न तथा हेर्न सकिने बनाउनका लागि डिजिटल प्रविधिमा राख्न लागिएको अभिलेखालयका माइक्रोफिल्मिङ शाखाका प्रमुख कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार डिजिटल प्रविधिमा राख्ने तयारीस्वरुप लगभग ४० लाख रुपैयाँको लागतमा अत्याधुनिक मेसिन ल्याइसकिएको र त्यसको परीक्षण कार्य भइरहेको छ ।डिजिटल प्रविधिमा राखिएसँगै अभिलेख सम्बन्धमा अध्ययन गर्ने अध्येताहरूले क्षणभरमा नै सहज र सरल रुपमा अध्ययन गर्न पाउँछन् । जर्मन सरकारको सहयोगमा सन् १९७० देखि माइक्रोफिल्मिङ गरिँदै आइएकामा नौ हजारको सङ्ख्यामा माइक्रोफिल्मिङ गरिएका वस्तुहरूलाई प्राथमिकताका आधारमा डिजिटल प्रविधिमा सुरक्षित गरिने श्रेष्ठको भनाइ छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]