सावधान , तपाई कहाँ स्मार्ट टेलिभिजन छ ?

२०७१ फाल्गुन २ गते, शनिबार

काठमाडौँ । तपार्इं कहाँ स्मार्ट टेलिभिजन छ ? छ भने अब टेलिभिजनका अगाडि गोप्य कामकुरा गर्ने दिन गए । तपाईंले गरेका गोप्य कुराहरू सुनेर टेलिभिजनले अरु मानिसहरूलाई सुनाइदिने भएपछि अब टेलिभिजनबाट समेत सतर्क हुनुपर्ने भएको छ । सुन्दै आश्चर्य लाग्ने तथा पत्यारै नलाग्ने यो कुरा यथार्थ बन्दैछ । टेलिभिजन निर्माता कम्पनी सामसुङले कम्पनीका स्मार्ट टेलिभिजन सेट अगाडि गोप्य तथा निजि कुराकानी नगर्न आफ्ना ग्राहकहरूलाई सचेत बनाएको छ । सामसुङले निर्माण गर्ने स्मार्ट टेलिभिजन प्रयोग गर्ने र टेलिभिजनको भ्वाइस एक्टिभेसन फिचर समेत उपयोग गर्ने दर्शकका लागि सामसुङले यस्तो चेतावनी जारी गरेको हो । भ्वाइस एक्टिभेसन फिचर एक्टिभ गरेसँगै स्मार्ट टिभीले मानिसले बोलेका कुराहरू सुनेर रेकर्ड गर्ने र त्यस्ता कुराहरू सामसुङ कम्पनी वा अरु तेश्रो पक्षलाई बताउने सम्भावना हुने बताइएको छ ।
अनलाइन म्यागेजिन डेली बिस्टले सामसुङको स्मार्ट टेलिभिजन सेटमा रहेको ध्वनी रेकर्ड र शेयर गर्ने सम्बन्धि गोपनीयता नीतिका विषयमा समाचार प्रकाशित गरेपछि सामसुङले आफ्ना प्रयोगकर्तालाई आफ्नो स्मार्ट टेलिभिजनको फिचरका विषयमा प्रष्ट पारेको छ ।
स्मार्ट टेलिभिजनको रिमोट कन्ट्रोलमा रहेको एउटा बटन थिचेपछि कसरी मानिसले बोलेको आवाज रेकर्ड हुन्छ र अन्य मानिससँग शेयर हुने सम्भावना रहन्छ भन्ने विषयमा सामसुङको गोपनियता नीतिमा उल्लेखित वाक्यांशहरूलाई पत्रिकाले जस्ताको तस्तै छापेको थियो ।
कम्पनीको प्राइभेसी नीतिमा स्मार्ट टेलिभिजन प्रयोगकर्तालाई चेतावनी जारी गर्दै भनिएको छ, ‘कृपया यदि तपाईंहरू आफ्ना व्यक्तिगत तथा अन्य संवेदनशील सूचनाहरूको बारेमा बोल्दै हुनुहुन्छ भने सचेत हुनुहोस् । यस्ता सूचनाहरू डाटाको रूपमा क्याप्चर भएर तेश्रो पक्षसम्म पुग्न सक्छन् ।’ यसको अर्थ टेलिभिजन खोलेर कोठाभित्र भएका पारिवारिक झैझगडा, दम्पतीहरूका बीचका अन्तरँग कुराकानी वा गोप्य कुराहरू समेत टेलिभिजनले रेकर्ड गरेर तेश्रो पक्षसम्म पु¥याउन सक्छ ।
यस विषयमा सामाजिक संजालमा ठूलै तरंग उत्पन्न हुनुका साथै अधिकारवादीहरूले समेत आवाज उठाएपछि सामसुङले औपचारिक रूपमा यस विषयमा प्रष्टिकरण दिएको हो । सामसुङले स्मार्ट टिभीको भ्वाइस एक्टिभेसन फिचर्सले कसरी काम गर्छ भन्ने विषयमा प्रष्ट पार्दै टेलिभिजन प्रयोगकर्ताहरूको गोपनीयताका विषयमा कम्पनी निकै गम्भीर रहेकैले प्रयोगकर्तालाई गोपनीयता नीतिमार्फत् टेलिभिजनको यस फिचरको विषयमा जानकारी गराइएको बताएको छ ।
सामसुङले भनेको छ, ‘यदि प्रयोगकर्ताले आफै भ्वाइस रिकग्नीसन फिचर प्रयोग ग¥यो भने भ्वाइस कमाण्ड सर्चको बटन थिँच्दा भ्वाइस डाटा तेश्रो पक्षसम्म पुग्छ । त्यस अवस्थामा भ्वाइस डाटा इन्टरनेट सर्भरमा पठाइन्छ, जसले प्रयोगकर्ताले खोजी गरिएको सामाग्री खोजेर टेलिभिजन मार्फत् उक्त सामाग्री प्रशारण हुन्छ खोजेर टेलिभिजन मार्फत उक्त सामाग्री प्रशारण हुन्छ ।’
त्यसैले स्मार्ट टेलिभिजन प्रयोगकर्ताले आफ्नो टेलिभिजनमा भ्वाइस एक्टिभेसन फिचर चालु भए नभएको विषयमा जानकार हुनुपर्ने बताउँदै स्क्रिनमा माइक्रोफोनको आइकन देखिएमा यो फिचर अन भएको थाहा पाउनुपर्ने बताएको छ ।
सामसुङ कम्पनीले यो वर्षभित्रमा १४ करोड १० लाख स्मार्ट टेलिभिजन सेट निर्माण गरेर बजारमा पठाउने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]