भूकम्पले भूभाग सार्यो : नापी बिभाग
काठमाडौ २७ वैशाख ।गतवैशाख १२ गते गएको भूकम्पपछि काठमाडौं उपत्यका तथा बढी प्रभावित क्षेत्रको अवस्थितिमा परिवर्तन आएको नापी बिभागले बताएको छ । नापी विभागले भक्तपुरको नगरकोटको भू–भाग १ मिटर ८२ सेन्टिमिटर दक्षिण–पश्चिम सरेको छ भने फूल्चोकी पनि झण्डै १ मिटर दक्षिण पश्चिम सरेकोजनाएको छ ।
भूकम्पबाट जमिनको भू–भागमा आएको परिवर्तनबारे नापी विभागले जारी गरेको विज्ञप्ती पूर्ण बिबरण यसप्रकार रहेको छ :”२०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लाहरूमा जनधनको ठुलो क्षति हुन पुगेको छ l यो भूकम्पले जनमानसमा विभिन्न किसिमका त्रासहरु सिर्जना गरेको पाईएको छ l यसै सन्दर्भमा भूकम्प पछी काठमाडौँ उपत्यका लगायतका प्रभावित क्षेत्रहरुको अवस्थितिमा परिबर्तन आए नआएको सम्बन्धमा यथार्थ सूचना सार्बजनिक हुनु जरुरी देखिएको छ l
यसको लागी ग्लोबल रिफरेन्सको आधारमा भूकम्प पछी प्रभावित क्षेत्रको भू सतह स्थानान्तर भए नभएको सम्बन्धमा नापी विभागले तत्कालै अध्ययन शुरु गर्यो l यस क्रममा भूकम्प जानु अगाबै स्थापना भइ अवस्थिति निर्धारण गरिएका काठमाडौँ उपत्यकाको नजिकमा पर्ने विभिन्न ५ वटा नियन्त्रण बिन्दूहरुमा भूकम्प पश्चातको अवस्थिति अध्ययन गर्नको निम्ति Global Positioning System (GPS) प्रबिधिबाट लगातार २४ घन्टा सर्भेक्षण (simultenous oservation) गरि भूकम्प जानु अगाडी र भूकम्प गइसके पछी सर्भेक्षण बाट प्राप्त Data हरुको तुलनात्मक अध्ययन गरियो l उक्त अध्ययनको क्रममा भूकम्प पश्चात भक्तपुर र काभे जिल्लाको सिमानामा रहेको नगरकोट, ललितपुर जिल्लाको फुल्चोकी डाँडा र बुङ्मतीको लाखे डाँडा, काठमाडौँ जिल्लाको स्वयम्भु तथा नुवाकोट जिल्लाको कुमारी डाँडामा रहेका नियन्त्रण बिन्दुहरुको GPS प्रबिधिबाट सर्भेक्षण गरियो l उपरोक्त नियन्त्रण बिन्दुहरुको GPS सर्भेक्षणबाट प्राप्त data प्रशोधन गर्ने क्रममा हंगकंग, ल्हासा, बंगलोर, हैदराबाद, कजकास्थान, ओमान, मंगोलिया लगायत अन्य स्थानमा रहेका १३ वटा Continuous Observing Station बाट प्राप्त data लाई आधार लिइयो l भूकम्प अगाडी र भूकम्प पश्चात संगणना गरेका नियन्त्रण बिन्दुहरुको अबस्थितिको नियामक (Coordinate) International GNSS Service को Realization मा International Terrestrial Reference Frame 2008 को आधारमा गरिएको हो l
प्राप्त डाटाको आधारमा अध्ययन गर्दा उपरोक्त नियन्त्रण विन्दुहरूको अबस्थितिमा केहि फरक पर्न गएको देखिन आएको छ l नगरकोटमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति १.८२ मिटर South West दिशामा परिबर्तन भएको र Ellipsoidal Elevation १.१५८४ मिटरले बढेको पाइयो l फुल्चोकीमा रहेको नियन्त्रण बिन्दु को अवस्थिति ०.९२ मिटर South West मा परिबर्तन भएको र Ellipsoidal Elevation ०.६३ मिटरले बढेको देखिन्छ l त्यसै गरि बुङ्मती, स्वयम्भु तथा कुमारीमा रहेका नियन्त्रण बिन्दुहरुको अवस्थितिमा क्रमशः ०.९९ मिटर South दिशामा, १.६४ मिटर South West दिशामा, र १.७१ मिटर South West दिशामा परिबर्तन भएको देखिन्छ l अवस्थितिको परिबर्तन मूलतः दक्षिण तर्फ र थोरैमात्र पश्चिम तर्फ रहेको पाइयो l ति नियन्त्रण बिन्दुहरुको Ellipsoidal Elevation मा पनि क्रमशः ०.७७ मिटर, ०.९८ मिटर र १.०९३ मिटर बढेको पाइयो l
नापी विभागले स्थापना गरेका नियन्त्रण बिन्दूहरुको अवस्थितिमा आएको परिबर्तनले राष्ट्रिय नापनक्शाको आधारको रुपमा रहेका नियन्त्रण बिन्दुहरुको संजाललाई पूर्णत नोक्सानी पुराएको छ l देशका विभिन्न स्थानहरुमा स्थापना भएका सम्पूर्ण नियन्त्रण विन्दुहरू पुनस्थापना गरि ति बिन्दुहरुको पुन सर्भेक्षण गर्नु पर्ने अबस्था सिर्जना भएको छ l यसरी अवस्थितिमा आएको परिबर्तनले कित्ता नापी को नक्शा र जग्गाको स्वामित्वमा भने खासै असर पार्दैन l ”