टेलिकमको भुक्तानी अब आईभीआरमा

२०७२ कार्तिक ६ गते, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले इण्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर)मार्फत नयाँ रिचार्ज सेवा शुरू गरेको छ । तेस्रो पक्षबाट प्रदान गरिने यो सेवामार्फत टेलिकमका विभिन्न सेवाको रिचार्ज तथा महशुल भुक्तानी गर्न सकिने गरी गतआइतवारबाट सञ्चालनमा ल्याएको हो । नयाँ व्यवस्थाअनुसार टेलिकमका विभिन्न नम्बरबाट १४१२ मा फोन गरी एनटी रिचार्ज कार्ड (नयाँ रिचार्ज कार्ड)मार्फत विभिन्न सेवाको शुल्क भुक्तानी गर्न सकिने टेलिकमले बताएको छ । यो योजनाअन्तर्गत पीएसटीएनको महशुल भुक्तानी, एडीएसएल सेवाको रिचार्ज, जीएसएम पोष्टपेड मोबाइलको महशुल भुक्तानी, जीएसएम प्रिपेड मोबाइल रिचार्ज, सीडीएमए प्रिपेड टपअप, सीडीएमए पोष्टपेड महशुल भुक्तानी र वाईम्याक्स सेवाको रिचार्ज गर्न सकिनेछ ।
त्यस्तै, टेलिकमको नमस्ते रिचार्ज (पुरानो) कार्ड प्रयोग गरी १४१३ मार्फत पीएसटीएन सेवाको बिल भुक्तानी, जीएसएम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र एडीएसएल सेवाको महशुल भुक्तानी गर्न सकिने यसअघिको सेवा पनि यथावत रहेको टेलिकमले बताएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार नयाँ बिलिङ प्रणाली सीआरटीबी (एकीकृत भुक्तानी सेवा)मार्फत एउटै रिचार्ज कार्डको सहायताले टेलिकमका सबै किसिमका भुक्तानीमा सहजता ल्याउने योजनाअनुरूप आईभीआर सेवामार्फत रिचार्ज गर्न सकिने भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]