सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी नबनाउँदा नै बेश

२०७२ पुष १९ गते, आईतवार

काठमाडौँ । सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाईंलाई उसले फसाउन सक्छ ।त्यसैले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी नबनाउँदा नै बेश । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसङ्गै फेसबुक, ट्विटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको छ । महानगरीय अपराध महाशाखाले गरेको सर्वेक्षणअनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेको पाइएको छ । ती मध्ये १५ देखि १९ वर्षसम्मका केटाकेटी धेरै साइबर अपराधमा लाग्ने गरेका छन् । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको बताए । उनले भने – “सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गर्दछ, संसारमा निःशुल्क भनेको केही पनि हुँदैन ।” उनि साइबर कानुनका बारेमा विद्यालय र क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको बताउछन । साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
आव ०६९-७० मा साइबर अपराधका घटना ५८ वटा रहेका थिए । तीमध्ये २६ वटा घटनालाई मुद्दा चलाएको महाशाखाले जनाएको छ । यस्तै ०७०-७१ मा ९१ वटा, ०७१-७२ मा ३०५ वटा मुद्दा दर्ता भएका छन् । यो आवको पुस १७ गतेसम्म २६४ साइबर अपराधका मुद्दा दर्ता भएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका प्रमुख खनालले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएका छन । साइबर अपराधको कानुनअनुसार अपराधीलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने प्रावधान रहेको छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ यसैले साइबर अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]