फेसबुकका साथी औपचारिकतामै सीमित

२०७२ माघ ११ गते, सोमबार

काठमाडौँ । फेसबुकमा धेरै साथी छन् भनेर घमण्ड गर्नेहरुका लागि एउटा अनुसन्धान रिपोर्टले चड्कन दिएको छ । वास्तवमा फेसबुकमा धेरै साथी छन् भनेर फुर्ति नगरे हुने भएको । किनकि फेसबुकमा तपाइँले बनाउने वास्तविक साथीहरुको संख्या भनेको बढीमा केवल २ सय मात्र रहेछ । पछिल्लो पटक गरिएको एक रोचक अध्ययनले सोसल नेटवर्किंग साइटका प्रयोगकर्ताहरुले यस्ता साइटमा बनाउने वास्तविक निकट साथीहरुकोे संख्या २ सयभन्दा पनि कम हुने देखाएको छ । सोसल साइटमा वास्तविक साथी बनाउने मामिलामा पुरुषको तुलनामा महिला अगाडि देखिएका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक मनोविज्ञ रोबिन डन्बारले नियमित रुपमा सामाजिक संजाल प्रयोग गर्नेहरुमा विभिन्न २ वटा सर्भेक्षण गरे । त्यस क्रममा पहिलो समूहमा फेसबुकमा हुने औषत साथीहरुको संख्या १५५ पाए भने अर्काे समूहको औषत साथी संख्या १८३ पाए । दुबै नमूनाहरुमा पुरुषको तुलनामा महिलाहरुको फेसबुकमा वास्तविक वा निकट साथीहरुको संख्या बढिरहेको देखियो । पहिलो समूहमा महिलाहरुका वास्तविक फेसबुकको साथीहरुको औषत संख्या १६६ हुँदा पुरुषको १४५ थियो भने दोश्रो समूहका महिलाहरुको फेसबुकको साथीको औषत संख्या १९६ हुँदा पुरुषका साथीको संख्या १५७ मात्र थियो । त्यस्तै अपेक्षाकृत रुपमै पूरानो पुस्ताका मानिसहरुको फेसबुकको साथीको संख्या नयाँ पुस्ताका मानिसको भन्दा कम रहेको पाइयो । शोधकर्ताका अनुसार सोसल साइटले प्रत्यक्ष भेटघाटको अभावमा समयक्रमसँगै मित्रतामा आउने फाटोलाई घटाउनका लागि सहयोग गर्ने गरेको छ । तर लामो समयसम्म पनि प्रत्यक्ष भेटघाट हुन सकेन भने फेसबुकको मित्रता केवल औपचारिकतामा सीमित हुने र उक्त साथीसँग वास्तविक मित्रता हराउने शोधकर्ताको ठम्याइ छ ।
शोधकर्ता डेन्बरका अनुसार एक मित्रले अर्काे मित्रलाई प्रत्यक्ष भेटघाट गरी एकले अर्काको आँखा हेर्नु मित्रतालाई प्रगाढ बनाउनका लागि महत्वपूर्ण हुन्छ । शोधकर्ताले एकजना मानिसले कतिजना अन्य मानिससँग दह्रिलो मित्रता कायम गर्न सक्छ भन्ने एउटा सिद्धान्त नै प्रतिपादन गरेका छन् । उक्त सिद्धान्तलाई सोसल ब्रेन हाइपोथेसिस भनिएको छ । यसअनुसार हाम्रो मस्तिष्कले विभिन्न बहुआयामिक मित्रवत सम्वन्धहरुलाई प्रोसेसिंग गर्ने क्रममा एक सय देखि दुई सयजना वास्तविक मित्रको समूह छुट्टाउँछ । अर्थात् हाम्रो मस्तिष्क २ सय जनाभन्दा बढी मानिससँग वास्तविक मित्रता कायम गर्न असमर्थ हुन्छ । २ सय जनाभन्दा बढिसँग वास्तविक मित्रता राखिराख्न हामीसँग समय पनि हुँदैन । सामाजिक संजालको प्रयोगले मानिसले धेरैभन्दा धेरै साथीहरु बनाउन सक्ने र प्रत्यक्ष भेटघाट वा कुराकानी गरिरहनु नपर्दा धेरैजनासँग मित्रता कायम राख्न सकिने अनुमान धेरैको हुन्छ । फेसबुकमा सयौँ साथीहरु बनाएका पनि हुन्छौँ हामीले । तर फेसबुकमा आपूmसँग साथी बनेका सबै फेसबुकेहरु तपाइँका वास्तविक साथी नहुने तथ्य डन्बारको अध्ययनको पुष्टि गरेको छ । उनले के सोसल मिडियाको प्रयोगले हामीले धेरै साथी बनाउन सक्छौँ त भन्ने कुरा पत्ता लगाउनका लागि ३३ सय जना मानिसमा अध्ययन गरे । पहिलो समूहका फेसबुकेहरुले आफ्ना फेसबुक साथीहरुमध्ये केवल २८ प्रतिशत मात्र वास्तविक वा खास साथी रहेको बताए । फेसबुकले निकै धेरै साथी भएकाहरुको पनि वास्तविक साथीहरुको औषत संख्या उत्ति नै रहेको पाइयो ।

प्रतिक्रियाहरु

[anycomment]