नक्कली लाइसेन्स बनाउने गिरोह प्रहरीको फन्दामा
काठमाडौं, १३ माघ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले नक्कली लाइसेन्स बनाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले होलाग्राम, छाप लगायतका सामाग्रीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाको धैबुङका ३९ वर्षीय लालबहादुर तामाङ, गुल्मीको हर्दिनेटाका २६ वर्षीय साजन न्यौपाने, काठमाडौका ३९ वर्षीय जितेन्द्र खड्का र धादिङको कुमपुरका २४ वर्षीय सुर्य कोइराला छन् । तामाङ बागबजारस्थित बुद्ध स्किन प्रिन्टका तथा न्यौपाने नमस्ते डिजाइन होमका संचालक हुन् ।
उनीहरुको साथबाट नक्कली लाइसेन्स बनाउनका लागि प्रकाशन गरिएका ३ सय ५० थान कार्ड, ७५ थान होलोग्राम, यातायात व्यवस्था कार्यालय वाग्मतीको नामका २ थान छाप बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुर्य कोइरालाको पर्स तथा मोबाइल ठमेलमा हराएको थियो । कोइरालाको पर्स र मोबाइल भट्टाए साजन राना र सुशान्त तामाङले । उनीहरुबीच भागबण्डा लगाउने विषयलाई लिएर कर्मचारी संचय कोष अगाडि झगडा भइरहँदा प्रहरी पुगेको थियो ।
पर्सभित्र रहेको दुई वटा नक्कली लाइसेन्सका आधारमा प्रहरी गिरोहलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध सरकारी छाप दस्तखत कीर्ते मुद्दा अन्र्तगत म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।