उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण
काठमाडौं, ५ चैत । उत्तर कोरियाले समुद्रमा लामो दुरीको एउटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरिया र अमेरिकी अधिकारीहरुले दावी गरेका छन् । अधिकारीहरुका अनुसार मिसाइल उत्तर कोरियाको पूर्वी तटबाट छोडिएको थियो । मिसाइलले ८ सय किलोमिटर उडान भरेपछि समुद्रमा खसेको थियो। अमेरिकी रक्षा विभागका एक प्रवक्ताले उत्तर कोरियाले दोस्रो मिसाइल पनि छोडेको बताएका छन् ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको यो दावीप्रति कुनै टिप्प्णी गरेको छैन । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दोस्रो मिसाइल मध्यम दूरीको रोडोंग मिसाइल हो । जुन सडकमा गुड्न कुनै गाडीबाट छोडिएको हो ।
रोडोंगको मारक क्षमता १३०० किलोमिटरको छ। यसको निशानामा दक्षिण कोरिया र जापानका केही भाग आउन सक्छ ।
अमेरिकी रक्षा विभागका लेफ्टिनेन्ट कर्णेल मिशेल बेलडांजाले भने–हामी उत्तर कोरियासँग यस्ता गतिविधिबाट बच्न अपिल गर्दछौ । यसले यस क्षेत्रमा अरु तनाव बढाउन सक्छ ।
यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेश जारी गरेका थिए ।
यो आदेश उत्तर कोरियाले ६ जनवरी २०१६ मा गरेको अथित ‘अनुचित’ नाभिकीय परीक्षण र ७ फेब्रुअरीमा स्याटेलाइट लन्च गरेपछि जारी गरिएको हो । यसका साथै अमेरिकामा उत्तर कोरिया सरकारको सम्पत्ति जफत हुनेछ ।
यसका साथै उत्तर कोरियामा अमेरिकी लगानी र त्यहाँबाट कुनै पनि प्रकारको आयातमाथि पनि प्रतिबन्ध लाग्नेछ । उत्तर कोरियासँग सम्बन्ध राख्ने गैर अमेरिकीसमेत कुनै पनि व्यक्तिलाई कालोसूचीमा राख्न सकिनेछ ।
यता उत्तर कोरियामा राज्यविरुद्ध अपराध गरेको आरोपमा एक अमेरिकी छात्र आटो भाम्बियरलाई १५ वर्षको श्रम काराबासको सजाय सुनाएको छ। यसले पनि दुवै देशबीच तनाव बढाएको छ। अमेरिकाले आटो भाम्बियरलाई तत्काल रिहा गर्न माग गरेको छ । – एजेन्सी