एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध
काठमाडौँ, ९ चैत । जाजरकोटमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । जाजरकोटको मजकोट गाविस–६ स्थित स्काइ टेलिफोन टावरमा समस्या आउँदा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका हुन् । टावर अवरुद्ध हुँदा छिमेकी गाविस दह, कोताङ, गर्खाकोट, सुवानाउली र दशेरा गाविसका बासिन्दासमेत मर्कामा परेका छन् । एक सातादेखि बन्द भएको टेलिफोन सेवा सुचारु गर्नेतर्फ सरोकारवाला उदासिन भएको स्थानीयले बताएका छन् । फोन बन्द भएपछि स्थानीय आफन्तसँग सन्चोबिसन्चोदेखि नियमित हुने कुरा गर्न नपाएको गुनासो गरेका छन् । यता नेपाल टेलिकमले सुर्खेतबाट छिट्टै प्राविधिक आएर समस्या हल गर्ने जानकारी दिएको छ ।