मेघ गर्जन सहित पानी पर्ने सम्भावना
काठमाडौं, १९ चैत । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि मध्य र पूर्वका धेरै ठाउँमा दिउँसोपछि मेघ गर्जन सहित पानी पर्ने सम्भावना छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्र बनेकाले आज देशभरीकै मौसम बदली हुनेछ । त्यसकै प्रभावका कारण बेलुकीपख धेरै ठाउँमा मेघ गर्जन सहित पानी पर्ने अनुमान गरिएको उनले बताए । सामान्यतया गर्मी सुरु भएपछि जमिन बढी तातेर बादल बन्ने भएकाले मनसुन सुरु हुनुअघि बेलुकीपख मेघ गर्जन सहित पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ । उनका अनुसार यो बेला बंगालको खाडी र अरव सागरबाट पनि पानी पार्ने वायु नेपाल आउने भएकाले मौसम बदली हुन्छ ।
गएको २४ घण्टामा देशका धेरै ठाउँमा पानी परेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्लेमा सबैभन्दा धेरै ४६ मिलिमिटर पानी परेको छ । त्यसपछि विराटनगरमा ३० दशमलव ९ मिलिमिटर, ओखलढुंगामा ४ दशमलव ४ मिलिमिटर, भैरहवामा ४ दशमलव २ मिलिमिटर, काठमाडौं ३ दशमलव ८ मिलिमिटर, पोखरामा ३ दशमलव ३ मिलिमिटर, जोमसोममा ३ मिलिमिटर पानी परेको छ ।
यस्तै जनकपुरमा २ दशमलव ४ मिलिमिटर, जिरीमा १ दशमलव ५ मिलिमिटर, ताप्लेजुङ १ मिलिमिटर, जुम्लामा शून्य दशमलव ८, धरानमा शून्य दशमलव ४ र धनकुटा शून्य दशमलव १ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।