हुवाइले डुअल– क्यामरासहितको मोबाइल ल्याउने

२०७२ चैत्र २८ गते, आईतवार

काठमाडौँ, २८ चैत । हुवाइले डुअल–क्यामरासहितको एन्ड्रोइड स्मार्टफोन चाँडै नै ल्याउने भएको छ । डुअल–क्यामरा प्रविधि प्रयोग गरिएको हुवाइको नयाँ स्मार्टफोन पि ९ बाट फोटो खिचेपछि त्यसलाई रिफोकस गर्न सकिन्छ । चिनियाँ प्रविधि फर्म र जर्मनको क्यामरा उत्पादक लेइकासँगको सहकार्यमा हुवाइले नयाँ स्मार्टफोनमा डुअल–क्यामरा प्रविधि जडान गरेको हो । हुवाइको पि ९ मोबाइलले ठूलो लेन्स भएका क्यामराले जस्तै फोटो खिच्न सक्ने जनाइएको छ । यो प्रविधिले हुवाइको बजार प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्लेषकले बताएका छन् । हुवाइले केही दिन अघि लण्डनमा विशेष कार्यक्रम गरी नयाँ स्मार्टफोन पि ९ चाँडै नै बजारमा ल्याउने घोषणा गरेको हो । पि ९ मा पछाडी दुई वटा क्यामेरा सेन्सर हुनेछ । यसले एउटामात्रै सेन्सर भएको क्यामराबाट लिएको तस्बिर भन्दा राम्रो तस्बिर लिन सकिने हुवाइले दाबी गरेको छ । यो फोनको पछाडीका दुवै क्यामरा १२ मेगापिक्सको रहेको छन् । एउटा क्यामराले रंगिन तथा अर्को क्यामराले ब्ल्याक एण्ड ह्वाइट तस्बिर लिने छन् । दुवै क्यामराको प्रयोगबाट कम प्रकाश भएको ठाउँमा पनि गुणस्तरिय तस्बिर खिच्न सकिने हुवाइले जनाएको छ । यो फोनको क्यामराबाट तस्बिर लिन खोजिएको बस्तुलाई फोकस गरी पृष्ठभूमिका अरु चिलाई ब्लर गर्न मिल्छ । यसबाट लिएको तस्बिरमा रिफोकस गर्न सकिने भएपनि भिडियोमा भने रिफोकस गर्न सकिँदैन । पि ९ को स्क्रिन ५ दशमलव २ इन्चको हुनेछ भने पि ९ प्लसको स्क्रिन ५ दशमलव ५ इन्चको हुनेछ । यसको क्यामरामा २७ एमएमको फोकल लेन्थ हुनेछ । तीन जिबी र्‍याम भएको फोनमा ३२ जिबी तथा चार जिबी र्‍याम भएको फोनमा ६४ जिबी इन्टरनल स्टोरेज हुने छ । यसलाई माइक्रो एसडीकार्ड प्रयोग गरेर एक सय २८ जिबीसम्म बढाउन सकिनेट । यसको सेल्फी क्यामेरा ८ मेगापिक्सलको हुनेछ । १६ अप्रिलदेखि बजारमा आउने पि ९ को मुल्य ६ सय ८२ तथा पि ९ प्लसको मुल्य ८ सय ५४ अमेरिकी डलर पर्ने अनुमान गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]