थप सात आकासे पुल बनाइँदै
काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थानमा थप सात आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार यात्रुको चापसँगै हुने गरेको दुर्घटना कम गर्न पुल निर्माण गर्न लागिएको हो । अहिले काठमाडौँका बानेश्वर, महाराजगन्ज, त्रिचन्द्र, चाबहिल, त्रिपुरेश्वर लगायत स्थानमा आकासे पुल बनाउने तयारी छ । त्यसमध्ये त्रिपुरेश्वरमा सडक विस्तारको काम भइरहेकाले केही समय लाग्ने देखिएको छ । “ट्राफिक व्यवस्थापन र यात्रुको सहजताका लागि महानगरले आफ्नै लगानीमा आकासे पुल बनाउन लागेको हो” – प्रमुख तामाङले भन्नुभयो ।
उहाँका अनुसार आकासे पुलको वरिपरि पसल राख्दा पैदल यात्रुलाई हिँड्न समस्या भएको गुनासो आइरहेकाले गर्दा अब निर्माण हुने पुलको वरवर भने कुनै पनि किसिमका पसल सञ्चालन गर्न पाइने छैन । नयाँ बन्ने पुलमा पसल राख्न नमिल्ने गरी डिजाइन गरिनेछ ।
शारीरिक अशक्तलाई त आकासे पुल नहुँदा सडक पार गर्न निकै कठिन पर्ने हँुदा अब बन्ने आकासे पुल अपाङ्गमैत्री हुने कामपाको भनाइ छ, जसमा शारीरिक रुपमा अक्षमले सहजै पुल उक्लन र ओर्लन सक्ने व्यवस्था हुनेछ ।
अहिले नयाँ पुल निर्माणका लागि डिजाइन तयार गर्ने काम सुरु भएको छ । ट्राफिक प्रहरी र महानगरीय प्रहरी परिसरको सुझावका आधारमा आकासे पुल निर्माण गर्ने ठाउँ तय भएको छ । सबै आकासे पुल तीन वर्षभित्र निर्माण गरिसक्ने महानगरपालिकाको योजना छ । यस्ता आकासे पुल निर्माणमा रु एक करोडभन्दा बढी खर्च हुने महानगरको अनुमान छ ।
अहिले प्रयोगमा रहेका भद्रकाली, सुन्धारा, जमल, वीर अस्पताल, भोटाहिटी, कलङ्की र नयाँ बसपार्कमा भएका आकासे पुलमा हुने आपराधिक क्रियाकलाप रोक्ने र रेलिङको उचाइ घटाएर पारदर्शी बनाइने पनि कामपाले जनाएको छ । आकासे पुल निर्माणका लागि सडक विभागसँग सहकार्य भइरहेको छ ।- रासस