ह्वाट्सएपको डेस्कटप एप सार्वजनिक

२०७३ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौँ, ७ जेठ । वेबमा आफ्नो म्यासेजिङ एप सार्वजनिक गरेको करीब १६ महिनापश्चात् ह्वाट्सएपले डेस्कटप प्रयोगकर्ताका लागि नयाँ एप प्रस्तुत गरेको छ । ह्वाट्सएप फेसबूकको स्वामित्व भएको कम्पनी हो । कम्पनीका अनुसार ह्वाट्स एपको प्रयोग अब विण्डोज ८ र यस माथिका भर्शन तथा म्याक ओएस एक्स १०.९ (मावेरिक्स) र यसभन्दा माथिका भर्शनका लागि उपलब्ध छ । अब ह्वाट्सएप एण्ड्रोइड, आईओएस, ब्ल्याकबेरी, विण्डोज फोनका साथै अन्य प्रयोगकर्ताका लागि समेत उपलब्ध भएको छ ।
ह्वाट्सएप वेबझैं नयाँ डेस्कटप एप्लिकेशन फोनकै एक एक्ष्टेन्शन हो । यो एपको माध्यमबाट प्रयोगकर्ताले आफ्नो मोबाइल उपकरणमार्फत भएका कुराकानी तथा सन्देश आफ्नो डेस्कटपमा हेर्न सक्छन् । तर, यसको प्रयोग डेस्कटपमा चलाउनका लागि मोबाइल एप्लिकेशन पनि खोलेर राख्नुपर्ने बताइएको छ । वेब ह्वाट्सएपको प्रयोग गर्नका लागि कुनै वेब ब्राउजरमा ह्वाट्सएप ओपन गर्नुपथ्र्यो । तर, अब भने यसो गर्नुपर्दैन । तर, यसको प्रयोगका लागि प्रयोगकर्ताले डेस्कटपमा ह्वाट्सएप एप आफ्नो कम्प्युरटमा डाउनलोड गर्नुपर्नेछ ।
डेस्कटप एप्लिकेशनमा लग इन गरेपछि ह्वाट्सएपकै मोबाइकल एप्लिकेशनको प्रयोग गरी एउटा क्यूआर कोड स्क्यान गर्नुपर्छ । एकपटक प्रयोगकर्ताले यो प्रक्रिया पूरा गरेपछि पहिलेका सबै च्याट कम्प्युटर स्क्रिनमा लोड हुन्छ । नयाँ डेस्कटप एप्लिकेशनमा प्रयोगकर्ताले आफूलाई मन पर्ने सबै किबोर्ड सर्टकटको प्रयोग गर्न सक्नेछन् । आवश्यकता तथा आफ्नो इच्छाअनुसार प्रयोगकर्ताले च्याटलाई जुमइन वा जुमआउट पनि गर्ने सुविधा यसमा दिइएको छ ।
नयाँ एप्लिकेशन वेब ह्वाट्सएपभन्दा खासै फरक नरहेको बताइएको छ । तर, यसमा यूजर इण्टरफेस पहिलेका तुलनामा निकै सहज बनाइएको छ । डाटाको माध्यमबाट डेस्कटप एप्लिकेशन डाउनलोड गर्नका लागि करीब ६१ एमबी डाटाको आवश्यकता पर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]