‘ सिड जिन बैङ्क’ स्थापना हुने
काठमाडौँ, १३ असार । वनस्पति विभागका अनुसार आउँदो आर्थिक वर्षबाट ललितपुरको गोदावरीमा सिड जिन बैङ्कको स्थापना हुनेछ । नेपालमा पहिलो पटक वन, वनस्पतिको बिउ संरक्षण गर्न सिड जिन बैङ्क स्थापना गरिन लागिएको हो । विकसित राष्ट्रहरूले आफ्नो क्षेत्रभित्र रहेका रैथाने वनस्पतिका बिउ संरक्षण गर्न यस्तो बैङ्कको स्थापना गरेका हुन्छन् । विभागका महानिर्देशक राजदेवप्रसाद यादवले भन्नुभयो, नेपालमा यो पहिलो पटक सुरुवात गरिँदै छ । हाम्रा रैथाने वनस्पतिका बिउ हामीसँग सुरक्षित भएनन् भने नेपालकै रैथाने हो कसरी भन्न सकिन्छ ? बोट बिरुवा लोप भए पनि हामीसँग बिउ सुरक्षित गर्न यो अवधारणा ल्याइएको हो ।
सिड जिन बैङ्कमा राखिएको बिउलाई कम्तीमा एक सय वर्षसम्म राख्न सकिने तर्क वनस्पतिविद्को छ । एक सय वर्षसम्म पनि बिउ संरक्षण गरेर बिउको उम्रने क्षमता जोगाई राख्न सकिन्छ, केही कारणले वनस्पतिको बोट लोप भए पनि बिउ सुरक्षित राख्न सक्ने हैसियत नेपालमा अब बन्नेछ महानिर्देशक यादवले बताए ।
वनस्पतिको बिउ सुरक्षाका लागि कुनै संरचना नहुँदा किसानले जडिबुटीको खेती गर्दा होस् वा वनस्पतिको वृक्षरोपण गर्दा होस् कस्तो खालको र कुन गुणस्तरको बोट रोपे भन्ने कुराको यकिन गर्न निकै गाह्रो भइरहेको परिस्थितिमा आगामी दिनमा सरकारले किसानलाई उन्नत स्तरको बिउ, बेर्ना दिन सक्ने र किसानले पनि अपेक्षित लाभ लिन सक्ने विभागले दाबी गरेको छ ।
सरकारले आगामी वर्षदेखि जडिबुटीको सम्भावना भएका क्षेत्रमा जडिबुटी पकेट क्षेत्र घोषणा गरी नयाँ ढङ्गले किसानलाई जडिबुटीमा व्यावसायिक बनाउने योजना बनाएको छ । वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत वनस्पति विभाग र वन विभाग मातहतका कार्यालयमार्फत यो कार्यक्रम सञ्चालन गर्न करिब ४५ करोड रुपियाँ बजेट वक्तव्यमा विनियोजन गरिएको छ ।