सरुवा हुन सिंहदरबार धाउन नपर्ने

२०७३ असार १४ गते, मंगलवार

काठमाडौँ, १४ असार । सामान्य प्रशासन मन्त्रालयले सरुवाका लागि निवेदन दर्ता गर्न सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्यकै लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउने भएको छ । अब कर्मचारीले आफ्नो सरुवा तथा बढुवाका लागि निवेदन दिन सिंहदरबार धाउनु पर्ने व्यबस्थाको अन्य हुने भएको छ ।
कर्मचारीको नियुक्ति, सरुवा तथा बढुवाको व्यवस्थापन गर्ने तालुक निकायको रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयले सरुवाका लागि निवेदन दर्ता गर्न सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्यकै लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउने भएपछि यस्तो बाध्यताबाट कर्मचारीले मुक्ति पाउने भएका हुन् ।
हालको व्यवस्था अनुसार कर्मचारीले सरुवा तथा बढुवाका लागि निवेदन दिन सिंहरदबार धाउनुपर्ने बाध्यता छ । हुलाकबाट पठाइने निवेदनहरू समयमा नपुग्ने तथा हराउने सम्भावना हुने भएकाले कर्मचारी स्वयं सिंहदरबार धाउन बाध्य छन् ।
मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको अनलाइन सफ्टवेयर प्रयोगमा आएपछि देशका दूरदराजबाट सिंहदरबारसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता नीतु पोखरेल अर्यालले बताए । “सफ्टवेयर बनाउने कार्य अन्तिम चरणमा पुगेको छ”, प्रवक्ता अर्यालले भने , “अनलाइन सफ्टवेयर सञ्चालनमा आएपछि देशभरका कर्मचारीले अनलाइनबाटै निवेदन गर्न सक्नेछन् । ”

प्रतिक्रियाहरु

[anycomment]