साराङकोटमा केबलकार निर्माण हुने
काठमाडौं, १७ असार । अन्नपुर्ण केबलकार प्रालिले पोखराको साराङकोटमा केबलकार निर्माण गर्ने भएको छ । प्रालिले पर्यटकीय गन्तब्य साराङकोटलार्इ लक्षित गरेर केबलकार निर्माण गर्न लागेको बताएको छ ।
स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंया कुल पुँजीमा टाकासी मियाहराको लगानीमा केबलकार निर्माण हुन लागेको हो । पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए। मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक हुन् । उनले साराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन् ।
कम्पनीका अनुसार भदौंबाट केबलकार निर्माणको थालनी हुनेछ । निर्माण भएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केबलकार निर्माणको सबै काम चितवन कोर्इले पाएको स्रोतले बतायो । चितवन कोर्इले परियोजनाको इन्जिनियरिङ, प्लानिङ र कन्स्ट्रक्सन(इपिसी) का लागि ४२ करोड रुपैयाँमा ठेक्का दिने टुंगोमा पुगेको उच्च स्रोतले बतायो । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गा प्राप्तिको काम समेत भइसकेको छ ।
स्रोतका अनुसार केबलकार निर्माणका लागि आवश्यक वित्तिय स्रोतको टुंगो समेत लागिसकेको छ । यो केबलकार लागि आवश्यक पर्ने गोन्डोला भने निपोन केबल कम्पनीबाट आपूर्ति हुनेछ । नेपालमा संचालनमा रहेको मनकामना र निर्माण सकेर परीक्षण भइरहेको चन्द्रागिरी केबलकारमा अष्ट्रियन कम्पनी डोपलमेयरको गोन्डोला प्रयोग भएको छ । निपोन जापानको यातायातका साधन उत्पादन गर्ने कम्पनी हो ।
दैनिक १३ सयजना यात्रीलाई सेवा दिनेगरी निर्माण गर्न लागिएको बर्षभरी तीनसय ३० दिन सञ्चालन गर्ने लक्ष्य राखिएको छ।पर्यटकीय क्षेत्रका रुपमा रहेको पोखरामा केवलकार सञ्चालन गर्नेवारेमा पटकपटक छलफल भएको थियो। दुई सिफ्टमा सञ्चालन हुन लागेको यो केवलकारको लागि ५२५ केभिए विद्युत चाहिने कम्पनीले जनाएको छ।