तामाखानी संचालनमा ल्याउन माग
काठमाडौ, ६ साउन । म्याग्दीका बिभिन्न स्थानमा रहेका तामाखानी संचालनमा ल्याउन स्थानीयले माग गरेका छन् । स्थानीय बुढापाकाका अनुसार यहाँका तामा खानी २ सय वर्षसम्म सञ्चालन भएर बन्द गरिएको हो । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर तिर्न नसकेपछि खानी उत्खनन् बन्द गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा खानी उत्खनन गरेर हुने आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तामा खानी बन्द गरिएको हो ।
गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्ली गाविसमा करीब २० वटा तामा खानी छन् । खानी उत्खनन गर्न सयौं मिटर लामो सुरुङ खनिएका स्थान अझै यहाँ भेटिन्छन् ।
प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर छन् । तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो । खानी उत्खनन गर्न सरकारले कदम चाल्नुपर्ने स्थानीयको माग छ ।