लाइसेन्स लिन महिनौँ कुर्नुपर्ने

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौँ, ९ साउन । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चारपाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र (लाइसेन्स) लिनेको अत्यधिक भीड भएपछि महिनौँ कुर्नुपर्ने अवस्था आएको छ । चारपाङ्ग्रे सवारी साधनको लाइसेन्स लिनेको भीड बढेपछि कार्यालयले भदौ ३१ गतेसम्मको फारम लिइसकेकाले नयाँ फारम बुझाउनेले भदौ महिनाभरि पनि पालो नपाउने भएका छन् । विगत तीन महिनादेखि लाइसेन्स लिनेको चाप अत्यधिक बढेपछि महिनौँ कुर्नुपर्ने अवस्था छ ।
कलेज तथा क्याम्पस खुलेपछि भने दुईपाङ्ग्रे सवारीको लाइसेन्स लिनेको भीड कम भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ तर चारपाङ्ग्रे सवारीको लाइसेन्स लिनेको सङ्ख्या भने बढ्दो छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार चारपाङ्ग्रेका लागि शुक्रबार मात्रै छ सय जनाको फारम बुझिएको छ ।
एकान्तकुनामा लाइसेन्स लिन आउनेमध्ये झण्डै ८० प्रतिशत बाग्मती अञ्चलबाहिरका छन् । अन्य अञ्चल कार्यालयले नियमित काम गर्न नसक्दा बाग्मतीमा लाइसेन्स लिनका लागि भीड बढेको कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले भने अन्य अञ्चल कार्यालयमा निरन्तर काम हुन नसक्नु नै समस्या रहेको बताउनुभयो । भौतिक संरचना, जनशक्ति, स्रोत साधन र भवन तथा ट्रायल सेन्टरको सही व्यवस्थापन हुन नसक्दा सबै काठमाडौँ आउनुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । कार्यालयका अनुसार कोसी, नारायणी, धवलागिरि र कर्णालीमा चारपाङ्ग्रे सवारी साधनको ट्रायल सेन्टर नै छैन । भएकामा पनि निरन्तर काम हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]