एप्पललाई भारतमा समस्यै–समस्या

२०७३ श्रावण २२ गते, शनिबार

काठमाडौं,२२ साउन । पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अवलम्बन गर्ने सोचमा पुगेका छन् । विश्वमै तेस्रो ठूलो फोन बजारमा मानिएको भारतमा गरिएको एक अनुसन्धानले कूकलाई भारतमा केही गर्ने अवसर दिएको छ । दोस्रो चौमासिकमा भारतमा निकासी भएका ३ करोड ७ लाख स्मार्टफोनमध्ये एप्पलको संख्या केबल ८ लाख थियो । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले न्यून भएको हो, जबकी भारतको समग्र बजार १९ प्रतिशतले बृद्धि भएको थियो ।
‘यस प्रतिस्पर्धाकै कारण एप्पलको बजार हिस्सा आधा नै घटेको छ अर्थात् ४ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ’–स्ट्राटेजी एनालिटिक्सका निर्देशक उडी ओह भन्छन्–‘एप्पल आइओएसले आइफोनको मूल्य घटाउनुको विकल्प छैन र बढीभन्दा बढी अपरेटरलाई आकर्षित गर्नुपर्दछ । साथै एप्पलका पसलहरु वा अनलाइन बिक्री पद्धतिमा सुधार ल्याउनुपर्दछ ।’
भारतीय बजारमा गुगलको एन्ड्रोइड सफ्टवेयर जडित फोनले प्रभाव जमाएको छ र यसको प्रमुख कारण नै आइफोनकोभन्दा अन्य स्मार्टफोन निकै सस्तो मूल्यमा उपलब्ध छन् । एन्ड्रोइड फोनको बिक्री दोस्रो चौमासिकमा ९७ प्रतिशतले बृद्धि भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९० प्रतिशत बढी हो । कूकले एप्पलका लागि भारतीय बजार निकै राम्रो रहेको प्रतिक्रिया दिँदै आएका छन् । खासगरी चीन र अमेरिकामा आइफोनको बिक्रीमा न्यूनता आएको सन्दर्भमा उनले भारतलाई लक्षित गर्न खोजिरहेका छन् ।
एप्पलले भारतमा निकै बढी किसिमका चुनौतीहरुको सामना गर्नुपरेको छ । प्रतिस्पर्धीहरुको तुलनामा एप्पलको स्मार्टफोनको मूल्यमात्र बढी होइन कि फोन सेटमा सीमितता छ । आइट्युन स्टोरले टीभी सो देखाउँदैन, म्याप एपले दिशा देखाउँदैन र एप्पल पे सेवा बिल्कुलै उपलब्ध छैन ।
एप्पलले भारतमा आफ्नै पसल खोल्ने अनुमति पाउन सकेको थिएन र प्रयोग भइसकेका फोनको बिक्रीलाई मे महिनामा प्रतिबन्ध लगाइएको छ । त्यसर्थ, कूकको भारतीय सपना अद्यापि हासिलयोग्य भएपनि तत्कालै लाभ दिन्छ भन्ने अड्कल गर्न कठिन छ । – रासस/एएफपी

प्रतिक्रियाहरु

[anycomment]