नेपालको आफ्नै स्याटेलाइट !
काठमाडौं, २१ असोज । सरकारले आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिए पनि पहिलो पटक सरकारले बोलपत्रमार्फत विश्वभरका ईच्छुक कम्पनीलाई आशयपत्र पेश गर्न आह्वान गरेको हो । करिब डेढ महिना अघि सूचना तथा संचार मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणलाई स्याटेलाइटको प्रक्रिय अघि बढाउन जिम्मेवारी दिएपछि बिहीबार प्राधिकरणले आशयपत्र माग गरेको हो ।
‘हामीले स्याटेलाइट राख्ने, संचालन गर्ने र मर्मत सम्भार गर्ने कार्यका लागि आशयपत्र माग गरेका छौं,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘इच्छुक कम्पनीले आगामी मंसिर ६ गतेसम्ममा आशयपत्र पेस गरिसक्नुपर्ने छ ।’ – कान्तिपुर दैनिकबाट