‘ सगुन’ दुई अर्व लगानी जुटाउने तयारीमा

२०७३ कार्तिक १० गते, बुधबार

काठमाडौं, १० कात्तिक । सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ । दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई-कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ मार्फत बीस मिलियन अमेरिकी डलर अर्थात दुई अर्व नेपाली रुपैयाँ लगानी जुटाउने तयारी गरेको हो । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ । लगानी गर्न चाहने प्रत्येक ब्यक्तिले कम्तिमा ३ सय डलर लगानी गर्न सक्नेछन् ।
यसका लागि लगानी खुल्ला भएका बिश्वभरका देशहरुबाट सेयर खरिद गर्न सकिनेछ । यो मिनि-आईपिओ बैङकरोल भेन्चर मार्फत गरिदैँ आएको छ ।बैङकरोल भेन्चर अमेरिकी वित्तीय उद्योग नियमन प्राधिकरण(FINRA) बाट प्रमाणित संस्था हो । अमेरिकामा मिनि आइपिओको सबै तयारी गरेर संस्थापक गोविन्द गिरी अहिले भारत तथा नेपालको भ्रमणमा छन् । अमेरिकाको सेक्युरिटी एक्सचेन्ज कमिसनमा मिनि आईपिओ स्विकृतिका लागि आवश्यक सबै कागजपत्रहरु सगुनका तर्फबाट पेश भइसकेको गिरीले जानकारी दिए । अमेरिकी सेक्युरिटी एक्सचेन्जबाट पूर्ण रुपमा स्वीकृति प्राप्त गर्न भने बढीमा ७० दिन लाग्ने छ ।
अमेरिकी सेक्युरिटी एक्सचेन्जको नयाँ नियम अनुसार सानो कम्पनिहरुले बढीमा ५० मिलियन डलर विभिन्न किसिमका लगानिकर्ताहरुबाट १२ महिनाको अवधि भित्र शेयर जारी गरेर उठाउन सक्ने प्रावधान रहेको छ । अमेरिकी जब्स एक्ट २०१२ को यो प्रावधान अनुसार मिनि आइपिओमा जाने सूचना प्रबिधि क्षेत्रको कम्पनी सगुन सम्भवत पहिलो हुनेछ । मिनि-आईपिओबाट उठेको रकम सगुनका विभिन्न चालू तथा आगामी परियोजनाहरुमा लगानी गरिनेछ ।
अमेरिका, भारत र नेपालमा सगुनको आवश्यक जनशक्ति उत्पादन, सगुनको प्रयोगशाला स्थापना, प्रविधी विकास तथा सुदृढीकरण, अनुसन्धान, बजारीकरण, ब्रान्डिङ र अन्य कामको लागि सो रकम खर्च हुनेछ । मिनि-आईपिओबाट उठेको रकम सगुनको विस्तारको लागि अर्को वर्षको अन्तिमसम्म खर्च गरिने संस्थापक गोविन्द्र गिरीले बताए ।
अमेरिका, भारत र नेपाल हुँदै दोस्रो चरणमा सगुन चिनियाँ बजारमा जाने योजनामा रहेको पनि गिरीले जानकारी गराए । सगुनमा रजिस्टर प्रयोगकर्ताका लागी “माई डे” (दैनिक काम मिलाउने), “मुड टक” (मुड अनुसार कुराकानी गरिने) र “ओपन सेक्रेट” (आफ्नो गोप्य कुराहरु सेयर गर्ने) लगायतका एप्लिकेसन रहेका छन् । मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन् । सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछ । सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछ । सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन् । जसबाट लाईक, डिस्लाईक, सेयर वा कमेन्ट गर्न सकिनेछ । साथै सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र सहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिनेछ । सगुनले अहिलेसम्म ५ लाख डलर आफ्नो साथिभाई र आफन्त सँग लगानीका रुपमा उठाएको छ । सगुनमा मासिक १३ हजारका दरले नयाँ प्रयोगकर्ताहरु आबद्ध भईरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]