अब ‘डिजिटल टेरेस्ट्रियल’ प्रविधिबाट च्यानल वितरण

२०७३ कार्तिक १९ गते, शुक्रबार

काठमाडौँ, १९ कात्तिक । नेपालमा दोस्रो पुस्ताको डिजिटल टेरेस्ट्रियल प्रविधिबाट टेलिभिजन च्यानलहरूको वितरण सुरु हुने भएको छ । यो प्रविधिबाट टीभी च्यानल वितरण गर्न तीनवटा कम्पनीले अनुमति पाएकाले चाँडै नै नेपालमा पनि सेवा सुरु हुने भएको हो । नेपालमा केबुल तथा डाइरेक्टु होम (डीटीएच) प्रविधि भित्रिनुभन्दा अगाडि एन्टेना राखेर टेलिभिजन हेर्ने गरिन्थ्यो । एन्टेना राखेर च्यानल ‘रिसिभ’ गर्ने पुरानो प्रविधिलाई डिजिटलमा रूपान्तरण गर्दै विकास गरिएको नयाँ प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकास्टिङ–सेकेन्ड जेनेरेसन टेरेस्ट्रियल (डीभीबी–टिटु)’ भनिन्छ ।
सञ्चार मन्त्रालयका अनुसार हालै मात्र ‘डीभीबी–टिटु’ प्रविधिबाट टीभी च्यानल वितरणका लागि निजी क्षेत्रका तीनवटा कम्पनीले अनुमति लिएका छन् । मन्त्रालयबाट हनी नेटवर्क प्रालि, युनिभर्सल नेटवर्क प्रालि र महाकाली डिजिटल नेटवर्क प्रालिले ‘डीभीबी–टिटु’ अनुमति लिएका हुन् ।
‘टेरेस्ट्रियललाई डिजिटल बनाइएको दोस्रो पुस्ताको प्रविधिमार्फत च्यानल वितरण गर्न हामीले अनुमति दिइसकेका छौं,’ मन्त्रालयका उपसचिव अनुप नेपालले भने, ‘तीनै कम्पनीले वर्षभित्र सेवा सुरु गरिसक्नुपर्ने प्रावधान छ ।’ एक वर्षभित्र सेवा सुरु गर्न नसकेको जायज कारण देखाउन सके विशेष परिस्थितिमा उनीहरूले थप ६ महिना समय पाउन सक्नेछन् ।
तीनवटै कम्पनीले १/१ करोड रुपैयाँ अनुमतिपत्र रकम तिरेर अनुमति लिएका हुन् । केबुल, डीटीएच र इन्टरनेट प्रोटोकल (आईपी) टीभीपछि नेपालमा यो नयाँ प्रविधिका रूपमा भित्रिन लागेको हो । मन्त्रालयले तीनवटै कम्पनीलाई ४०/४० मेगाहर्ज फ्रिक्वेन्सी चलाउन पाउने अनुमति दिएको छ । महाकालीले ५ सय ७८ देखि ६ सय १८ मेगाहर्ज, हनी नेटवर्कले ६ सय १८ देखि ६ सय ५८ मेगाहर्ज र युनिभर्सलले ६ सय ५८ देखि ६ सय ९८ मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी पाएका हुन् ।
यो प्रविधिमा च्यानल हेर्न पाउने ग्राहकले पनि घरमा डीटीएच वा डिजिटल केबुल प्रविधिमा जस्तै घरमा सेटअप बक्स राख्नुपर्ने हुन्छ । विभिन्न प्रसारण केन्द्रबाट पठाइएको सिग्नललाई सेटअप बक्समा रहेको रिसिभरले रिसिभ गरेपछि आफ्नो टीभीमा च्यानल हेर्न सकिन्छ । हनी नेटवर्क समूहका एकजना सञ्चालक रामजीप्रसाद उपाध्यायले आफूहरूले आगामी जेठभित्र सेवा सुरु गरिसक्ने लक्ष्य राखेको बताए ।
के हो ‘डीभीबी–टिटु’
यो पुरानो टेरेस्ट्रियल प्रविधिको विकसित डिजिटल रूप हो । यसलाई विश्वकै सबैभन्दा विकसित डिजिटल टेरेस्ट्रियल मानिन्छ । यसलाई डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) समेत भन्ने गरिन्छ ।
टेरेस्ट्रियल प्रविधिमा पृथ्वीको कुनै स्टेसनबाट छाडिएको सिग्नल पृथ्वीकै अर्को स्थानमा रहेको एन्टेनाबाट ‘रिसिभ’ गरिन्छ । तर, स्याटलाइट प्रविधिमा भने पृथ्वीबाट छाडिएको सिग्नल स्याटलाइट हुँदै अर्को स्थानमा रहेको रिसिभरमा पुग्ने गर्छ । ‘डीभीबी–टिटु’ प्रविधिबाट पूर्ण रूपको हाई डेभिनेसन (फुल एचडी) भिडियो हेर्ने सुविधा हुन्छ ।
१९९० दशकको अन्त्यतिर नै परम्परागत टेरेस्ट्रियल प्रविधिलाई डिजिटल बनाएर पहिलो पुस्ताको ‘डीभीबी–टी’ प्रविधि सुुरु गरिएको थियो । ‘एनलग’ प्रसारणलाई डिजिटल बनाउने क्रममा युरोपेली मुलुकहरूमा यो प्रविधिलाई विकास गर्ने लहर चल्यो । त्यसपछि धेरै मुलुकले यसको मापदण्डसमेत बनाए । सन् २००९ मा ‘डीभीबी–टिटु’ को पहिलो परीक्षण गरिएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले यसको मापदण्ड निर्माण गर्‍यो ।
आईटीयूकै सहयोगमा चार वर्षअघि नेपालमा पनि यसको मापदण्ड बनाइएको छ । अनुमति पाएका कम्पनीले सोही मापदण्डअनुसार च्यानल प्रसारण र वितरण गर्नुपर्नेछ । – विष्णु पोखरेल, कान्तिपुर दैनिक

प्रतिक्रियाहरु

[anycomment]