आज विश्व टेलिभिजन दिवस

२०७३ मंसिर ६ गते, सोमबार

काठमाडौं, ६ मंसिर । आज विश्व टेलिभिजन दिवस । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन लागिएको हो । तत्कालिन समयमा टेलिभिजन दिवस मनाउन पेश गरिएको प्रस्तावमा केही शक्ति राष्ट्रले भने नो भोट गरेका थिए ।
सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारमाध्यमका रुपमा लिइन्छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाइन्छ ।
सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० को दशकमा टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । नेपालमा टेलिभिजनको प्रसारण हुन थालेको ३२ वर्ष भएको छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुई दर्जनभन्दा बढी टेलिभिजन च्यानल नियमित प्रसारणमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]