आइटी पार्क सञ्चालन गर्न माग
काठमाडौं, ६ मंसिर । काभ्रेपलाञ्चोकको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकार भएकाले पुनः माग गरेका छन् । कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेपलाञ्चोकले आइतबार बनेपामा गरेको महासङ्घको १२ औँ वार्षिक साधारणसभामा कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जुन प्रयोजनका लागि स्थापना भएको हो त्यसको लागि मात्रै प्रयोगमा आउनुपर्ने बताए । उनले भने – आइटी पार्क केयु वा कुनै संस्थालाई सञ्चालन गर्न दिनु महासङ्घका लागि मान्य हँुदैन । सरकारले आइटी पार्क सञ्चालन गर्न सक्दैन भने त्यसको जिम्मेवारी क्यान महासङ्घले लिन तयार भएको उल्लेख गर्दै अध्यक्ष ढकालले आइटी पार्कको भौतिक पूर्वाधारदेखि सबै काम प्रभावकारी ढङ्गले सञ्चालन गरिने तर्क गरे ।
सांसद कञ्चनचन्द्र वादेले सरकारले स्मार्ट सिटीका रुपमा व्याख्या गरे पनि बजेट दिन नसकेको आरोप लगाउँदै धुलिखेल, बनेपा र पनौतीलाई बजेट भए मोडेलको रुपमा विकास गर्न सकिने बताए ।
क्यान महासङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष नवराज भूर्तेलको अध्यक्षतामा भएको सो कार्यक्रममा बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुली, उद्योग वाणिज्य सङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष सुरकृष्ण वैद्यलगायतले स्मार्ट सिटीको अवधारणालाई मूर्तरुप दिनुपर्नेमा जोड दिए । – रासस