सडकको अवस्था बताउने ‘मोबाइल एप्स’ सञ्चालनमा
काठमाडौँ, १६ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको अवस्थाबारे जानकारी दिन मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।
आमनागरिकले आफ्नो गाउँ ठाउँको सडकको अवस्थाबारे सरकारलाई सहजै जानकारी गराउन सकून् भन्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याएको हो । सडक मर्मत हुने स्थानबारे जानकारी नहुँदा सर्वसाधारणले सास्ती बेहोरिरहनु परेको बेला सडक विकास बोर्डले सोसम्बन्धी जानकारी दिन एप्स सञ्चालनमा ल्याएको हो ।
सडक बोर्ड नेपालले आफ्नो १४औँ स्थापना दिवसको अबसरमा सञ्चालनमा ल्याएको ‘मेरो सडक’ नामको सो एप्सको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शुभारम्भ गरे । शुभारम्भ गर्दै मन्त्री लेखकले यो एप्सको सञ्चालनले मुलुकको सडकको अवस्था तथा त्यसको मर्मत सम्भारमा महìवपूर्ण भूमिका निर्वाह गर्ने बताए । मन्त्री लेखकले निश्चित लक्ष्य बनाएर काम सुरु गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन समेत दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले चाँडै नै एप्सलाई इन्स्टल गरी कार्यान्वयनमा ल्याइने जानकारी दिए । उनका अनुसार यो एप्सको सम्पूर्ण नियन्त्रण सडक बोर्ड नेपालले गर्नेछन् ।