अब ट्याक्सी चढेको कम्प्युटर बिल पाइने

२०७३ पुष १८ गते, सोमबार

काठमाडौं, १८ पुस । सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आइतबारदेखि काठमाडौं उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ । उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सन्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्यरुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाइ जाँचपास गराउन सूचित गरेको छ । विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट जाँचपास गराउन यही पुस ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आइतबारदेखि ट्याक्सी मिटर नवीकरण/नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटरमात्र नवीकरण/नामसारी गरिने महानिर्देशक विश्वबाबु पुडासैनीलेलाई जानकारी दिए ।
ट्याक्सी सन्चालकले हालको मिटरमा प्रिन्टर जडान गर्दा रु पाँच हजारदेखि आठ हजारसम्म खर्च लाग्ने अनुमान छ । विभागको आग्रहमा नेपाली बजारमा मागअनुसार कम्प्युटर बिलिङ प्रिन्टर उपलब्ध रहेको जानकारी दिँदै उनले भने–‘कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गरे/नगरेकाबारेमा संयन्त्र बनाइ कडा अनुगमन गर्नेर्छौं, नियम नमान्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।’ विभागले ट्याक्सीमा मिटर जडान गरी जाँच गराउन तालिकासमेत बनाएको छ । सोअनुसार प्रत्येक हप्ता पाँच सय ट्याक्सीमा प्रिन्टर जडान गरेकाबारेमा जाँच गरिने महानिर्देशक पुडासैनीले बताए । विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौं उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरेकाबारेमा जाँच गरिसकिने जनाएको छ । राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिनेक्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाइ लागू गरेको हो । सर्वसाधारणले मिटरअनुसार ट्याक्सी चढ्न पाउनुपर्‍यो र ट्याक्सी सन्चालकले पनि ट्याक्सी चलाएअनुसार पारिश्रमिक लिनुपर्‍यो भनेर यो नियम लागू गरिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । मन्त्री जोशीले भने–‘मुख्य कुरा उपभोक्ता जागरुक हुनुपर्‍यो, बोलकबोल गरेरभन्दा नियमले तोकेको मिटरअनुसारको भाडामा सर्वसाधारणले सहजरुपमा ट्याक्सी चढ्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो ।’
‘ट्याक्सी सन्चालकले सरकारको नियम सहजै कार्यान्वयन गर्लान् त ?’ भन्ने जिज्ञासामा उनले यसमा सरकारका साथै उपभोक्ताको पनि उत्तिकै जिम्मेवारी रहेको विचार व्यक्त गरे । ट्याक्सीमा यो प्रणाली लागू भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाइ पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुनेछ । कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर)बाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लंदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत वितरण हुनेछ । यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास लिइएको छ ।- भीष्मराज ओझा (रासस)

प्रतिक्रियाहरु

[anycomment]