ट्राफिक ब्यबस्थापन हातको इशारामा !

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा ट्राफिक सहायताका लागि राखिएका वत्तिहरु कामै नलाग्ने भएका छन । करोडौं खर्चेर निर्माण गरिएको ट्राफिक वत्ति काम नलागेपछि ट्राफिक प्रहरी हैरानी ब्यहोर्न बाध्य भएका छन । शहरीकरणसँगै बढेका सवारी साधन अनि त्यसले निम्त्याएको ट्राफिक जामले सर्बसाधारण वाक्कदिक्क बनेका छन । अहिले ट्राफिक जाम राजधानीवासीको नियती नै भइसकेको छ । यति मात्र होइन बटुवालाई ठाउँ ठाउँमा बाटो काट्न सजिलो होस भन्ने हेतुले बनाईएका बत्तिसमेत बल्दैनन् । सवारी ब्यबस्थापनका लागि खटिएका ट्राफिक प्रहरी धुलो धुँवामा दिनरात हातको इशारामा ट्राफिक ब्यबस्थापन गर्न बाध्य हुनु परेको छ । बढ्दो सवारी दुर्घटना न्युनीकरण र शहरको शोभासमेत बढाउनका लागि गरिएको पहल सरोकारवाला निकायको बेवास्ताका कारण अलपत्र बनेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने र गाडी चलाउँदा सिट बेल्ट प्रयोग नगर्नेलगायतलाई कारबाही र जरिवाना भराउने गरेको छ । तर शहरको शोभा बढाउन र दुर्घटना न्यूनीकरणका लागि करोडौं खर्चेर बनाइएका ट्राफिक वत्ति नबल्दा त्यसतर्फ कसैको ध्यान पुग्न सकेको देखिदैन ।