पछिल्लो १० वर्षमा उत्पादन हुन नसकेको विद्युत् ‘यसपालि उत्पादन’
काठमाडौं, ११ माघ । सरकारले चालु आर्थिक वर्षमा २०० मेगावाट विद्युत् थप गर्ने लक्ष्यका साथ अगाडि बढाएको कार्ययोजनाअनुसार हालसम्म ११२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । आन्तरिक उत्पादनलाई बढावा दिने र संकट टार्नका लागिमात्रै तत्काल भारतबाट विद्युत् आयात गरिएको भन्दै सरकारले निर्माणकाक्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नसमेत आग्रह गरेको छ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ३७ बुँदे कार्ययोजनामा निर्माणकाक्रममा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न गरेको आग्रहअनुसार उनीहरुलाई थप सहजीकरणसमेत गरिरहेको छ ।
ऊर्जामन्त्री जनार्दन शर्माले निर्माणकाक्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गराउन मन्त्रालयका तर्फबाट सहयोग गरिएका कारण सरकारको लक्ष्य पूरा हुने बताए ।
चालु आवमा निजी लगानीबाट कुल १५ आयोजना सम्पन्न भइ राष्ट्रिय प्रणालीमा १४२ मेगावाट बिजुली थप हुनेक्रममा रहेको छ । पछिल्लोपटक पाँचथरमा आयोजनास्थल रहेको हेवाखोला ‘ए’ आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएपछि चालु आवको हालसम्ममात्रै ११२ मेगावाट प्राधिकरणले केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । ती सबै आयोजना सम्पन्न भएपछि आन्तरिकरुपमा विद्युत्को जडित क्षमता ९९० मेगावाट पुग्नेछ । पछिल्लो १० वर्षमा उत्पादन हुन नसकेको विद्युत् चालु आवमा उत्पादन हुने भएपछि त्यसले मुलुकको ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । १४४ मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारणलाइनमा सबैभन्दा ठूलो आयोजनाकारुपमा माथिल्लो मर्स्याङ्दी ५० मेगावाट जोडिएको छ ।
विद्युत् माग एक हजार २६० मेगावाट
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार हाल मुलुकभरको विद्युत् माग एक हजार २६० मेगावाट रहेको छ । हिउँदको समयमा बढी विद्युत् माग हुने भएपनि नियमितरुपमा विद्युत् उपलब्ध गराइएका कारण माग सोचेभन्दा कममात्रै बढेको प्राधिकरणको विश्वास छ । प्रणालीमा ३७५ मेगावाट अपुग रहेको छ । औद्योगिक करिडोरमा साँझको समयमा विद्युत्भार कटौती गर्नुपरेको छ ।
भारतबाट आयात गरिएको विद्युत् खिम्ती–ढल्केबर प्रसारणलाइनमार्फत् काठमाडौं आयात गरिएका कारण काठमाडौं उपत्यकाको ‘लोड’ व्यवस्थापनका लागि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । माग र आपूर्तिमा ३८० मेगावाट अपुग भएपनि सरकारले आधारभूतरुपमा मुलुकभर नै विद्युत्भार कटौती अन्त्य गरेको छ ।
प्राधिकरणका आयोजनाबाट ३५०, निजी ऊर्जा उत्पादकबाट १८० र भारतबाट ३५५ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । यही माघको १७ गतेबाट भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएपछि आन्तरिकरुपमा विद्युत् व्यवस्थापन गर्न थप सहज हुने प्राधिकरणको विश्वास छ । रासस