चिनियाँ क्षेप्यास्त्रको निशानामा अमेरिका, भारत र जापान !

२०७३ माघ २५ गते, मंगलवार

काठमाडौं, २५ माघ । चीनमा हालै गठित ‘रकेट फोर्स’ ले अत्याधुनिक ‘डिएफ–१६’ ब्यालिस्टिक क्षेप्यास्त्रका साथ युद्धअभ्यास गरेको छ । उक्त क्षेप्यास्त्रले करिब एक हजार किलोमीटरसम्म प्रहार गर्न सक्ने जनाइएको छ । सैन्यविदहरुका अनुसार सो क्षेप्यास्त्रले सजिलैसँग अमेरिका, भारत र जापानलाई निशाना बनाउन सक्छ । सैन्य क्षमतालाई गोप्य राख्दै आएको चीनको ‘पिपल्स लिबरेशन आर्मी’ (पीएलए) ले एक भिडियोमार्फत सैन्यअभ्यासका दृष्य सार्वजनिक गरेको छ । सो भिडियोमा ‘डिएफ–१६’ ब्यालिस्टिक क्षेप्यास्त्र पनि देखाइएको छ । भिडियो फुटेजमा केही सवारी साधनमा उक्त क्षेप्यास्त्र जडान गरिएको देखाइएको छ । उल्लेखनीय छ, चीनले आफ्नो क्षेप्यास्त्र र यससँग सम्बन्धित सैन्य उपकरणका लागि छुट्टै सैन्य समूह गठन गरेको छ, जसलाई ‘रकेट फोर्स’ भनिन्छ ।
‘डिएफ–१६’ ब्यालिस्टिक क्षेप्यास्त्र अन्य मुलुकका लागि मुख्य चुनौती : सेप्टेम्बर २०१५ मा राजधानी बेइजिङमा आयोजित एक सैन्य परेडमा ‘डिएफ–१६’ ब्यालिस्टिक क्षेप्यास्त्र पहिलोपटक देखाइएको थियो । जुलाई २०१६ मा एक टेलिभिजनमा प्रशारित समाचारमा उच्च सैन्य अधिकारीले ‘डिएफ–१६’ ब्यालिस्टिक क्षेप्यास्त्र युनिटको निरीक्षण गरेको दृष्य देखाइएको थियो । तर चीन सरकारले यो क्षेप्यास्त्रको विवरण सार्वजनिक गरेको छैन ।
विशेषज्ञहरुका अनुसार ‘डिएफ–१६’ ब्यालिस्टिक क्षेप्यास्त्र अन्य राष्ट्रका सेनाका लागि गम्भीर चुनौती बन्न सक्छ । चीनले जापानदेखि उत्तरमा ताइवान र दक्षिणमा फिलिपिन्ससम्म फैलिएको द्वीपलाई ‘फर्स्ट आइल्याण्ड चेन’ भन्ने गरेको छ । यो क्षेप्यास्त्र फर्स्ट आइल्याण्ड चेनमा तैनाथ अन्य मुलुकका सेनाका लागि ठूलो चुनौती बन्ने विज्ञहरुको दाबी छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचन भएपछि चीनले आफ्नो सुरक्षा र सामरिक शक्तिलाई अद्यावधिक गर्ने काम तीव्रताका साथ गर्दै आएको छ । यसका अतिरिक्त ताइवानप्रति पनि चीन आक्रामक देखिन थालेको छ । चीनले ताइवानलाई लक्षित गर्दै नजिकै आफ्नो पहिलो एअरक्राफ्ट क्यारिअर पठाएको थियो भने फर्स्ट आइल्याण्ड चेनमा पनि एअरक्राफ्ट क्यारिअरको उपस्थिति जनाइसकेको छ । यसअतिरिक्त विवादित दक्षिण चीन सागरमा पनि उसले सैन्य अभ्यास गरेको थियो ।
सैन्य मामला विशेषज्ञका अनुसार चीनले आफ्नो ‘डिएफ–५सी’ अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्रको पहिलो उडान जनवरीमा गरेको थियो । अमेरिकामा नयाँ नेतृत्व आएसँगै चीनले आफ्नो क्षमताको संकेत स्वरुप सैन्य अभ्यास र शक्ति प्रदर्शन गर्न थालेको विज्ञहरुको भनाइ छ ।
उल्लेखनीय छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुदेखि नै चीनप्रति आक्रामक अभिव्यक्ति दिदैं आएका छन् । उनले विवादित दक्षिण चीन सागरका बारेमा पनि कडा प्रतिक्रिया दिएका छन् । २० जनवरीमा ट्रम्पले अमेरिकी राष्ट्रपति पदको सपथ लिएकै दिन चिनियाँ सेनाको आधिकारिक वेभसाइटले ‘युद्धको आशंका बढी वास्तविक लाग्दै गएको’ लेखेको थियो ।
अमेरिकालाई निशाना बनाएर क्षेप्यास्त्र तैनाथ : चीनले रुससँगको सीमा नजिकै लामो दुरीको क्षेप्यास्त्र तैनाथ गरेको छ । रुसी संचारमाध्यमका अनुसार यो क्षेप्यास्त्रको निशाना अमेरिकातर्फ रहेको छ । चिनियाँ सरकारी संचारमाध्यमहरुले पनि अमेरिकासँगको सम्भावित सैन्य संघर्षको तयारीमा चिनियाँ सेना जुटेको समाचार प्रकाशित गर्दै आइरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]