गत डिसेम्बरमा शक्तिशाली उल्का विस्फोट भएको नासाकाे दाबी

२०७५ चैत्र ७ गते, बिहीबार

काठमाडौँ , ७ चैत । पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा विशाल उल्का विस्फोटन भएको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले जनाएकाे छ । उक्त विस्फोट ३० वर्षयता भएकाे त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको विस्फाेट रहेकाे नासाकाे दाबी छ । साथै साे विस्फाेट ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भएकाे विस्फाेटयताका यताको सबैभन्दा ठूलो रहेकाे बताइएकाे छ । सामान्यतया उल्का विस्फोट प्रत्येक १ सय वर्षमा दुई वा तीनपटक मात्रै हुने ठानिन्छ । रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन । उक्त अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको उर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो ।
नासाका ग्रह प्रतिरक्षा अधिकारी लिन्डले जनसनकाे भनाइ उद्धृत गर्दै बीबीसीले लेखेकाे छ, ‘यति ठूलो आकारको उल्का विस्फोट प्रत्येक १ सय वर्षमा दुई वा तीनपटक मात्रै हुने अनुमान गरिन्छ ।’ उनले आफ्नाे ट्विटरमा पनि यसप्रकारकाे ठूलाे उल्का विस्फाेट भएकाे तस्वीर सहितकाे दाबी पाेस्ट गरेका छन् । उनका अनुसार १८ डिसेम्बरको स्थानीय समयअनुसार मध्यान्हको समयमा, एउटा क्षुद्रग्रह ३२ किलोमिटर प्रति सेकेण्डको वेगमा सात डीग्रीको कोणबाट वायुमण्डलमा प्रवेश गरेको थियो । केही मिटरको आकार भएको उक्त उल्का पृथ्वीको सतहभन्दा २५ दशमलव ६ किलोमिटरमाथि विस्फोट हुन पुगेको थियो । त्यसबाट निस्केको उर्जा १ सय ७३ किलोटन थियो । ‘त्यो चेल्याविंस्क घटनामा उत्सर्जन भएको उर्जाको ४० प्रतिशत मात्र हो, तर त्यो बेरिङ सागरमाथि भएकोले त्यसबेलाको जस्तै प्रभाव त्यसले पार्न सकेन,’ सिमाेनले बताएका छन् । -बिबिसी

प्रतिक्रियाहरु

[anycomment]