उत्तर कोरिया मिसाइल परीक्षणमा व्यस्त

२०७६ चैत्र १८ गते, मंगलवार

काठमाडाैँ, १८ चैत । विश्वभर कोरोना भाइरसको महामारीले आतंक मच्चाइरहेको वेला उत्तर कोरिया भने मिसाइल परीक्षणमै व्यस्त देखिन्छ । उसले आइतबार मात्र ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को सफल परीक्षण गरेको बिबिसीले जनाएको छ । महिनादिनमै उसकाे याे चाैथाे परीक्षण रहेकाे समाचार एजेन्सीहरूले जनाएका छन् । उत्तर कोरियाली मिडियाहरुले पनि सोमबार यो परीक्षणको पुष्टि गरेका छन् । त्यहाँकाे अधिकृत सरकारी न्युज एजेन्सी केसीएनएले उत्तर काेरियाले क्षेप्यास्त्र परीक्षणहरूको श्रृंखला पुष्टि गरेकाे अल अजिराले लेखेकाे छ । केसीएनएले सुपर लार्ज मल्टिपल रकेट लन्चरकाे सफल परीक्षण भएको कुरा साेमबार पुष्टि गरेकाे हाे । तथापि, यस परीक्षणमा त्यहाँका शासक किम जोङ ऊनको प्रतिक्रिया वा सक्रियताबारे भने केही खुलाइएको छैन । विश्लेषकहरूकाे टिप्पणी छ कि प्योङयाङ (उत्तार कोरियाली राजधानी) आफ्ना पछिल्ला परीक्षणहरुलाई सामान्य देखाउने प्रयासमा छ र यसै कारण किम जोङले केही भनेका छैनन् ।
यसअघिका परीक्षणहरुमा किम जोङको सक्रियता देखिने गरेको थियो र परीक्षणका क्रममा उनी पनि तस्वीरमा देखिने गर्थे । तर पछिल्लाे परीक्षणमा भने उनी देखिएका छैनन् ।
विश्वका शक्तिशाली राष्ट्रहरु कोरोना भाइरसको महामारीसँग जुधिरहेका वेला उत्तर कोरियाको ध्यान भने मिसाइल परीक्षणबाट हट्न सकेको छैन । यसै मार्च महिनामा मात्र उत्तर कोरियाले चारवटा मिसाइल परीक्षण गरिसकेको छ । पछिल्लो मिसाइल परीक्षण आइतबार गरिएको थियाे ।
उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एउटा पनि केस फेला नपरेको समेत दाबी गरिरहेको छ । जबकि दक्षिण कोरियामा कोरोना भाइरसका कारण १५८ जनाको ज्यान गइसकेको छ भने ९ हजारभन्दा बढीमा भाइरसको संक्रमण फैलिएको छ ।
भारतबाट प्रकाशन हुने अमरउजालाका अनुसार दक्षिण कोरियाले आइतबार उत्तर कोरियाबाट दुई संदिग्ध ब्यालेस्टिक मिसाइन समुद्रमा छोडिएको बताएको छ । यी सबै घटना नियालिरहेकाे दक्षिण कोरियाको ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ले भनेको छ- ‘आइतबार बिहान कोरियाको पूर्वी तटीय शहर वोनसनबाट प्रक्षेपण भएका मिसाइल कोरियाई प्रायद्वीप र जापानको बीचको समुद्रमा खसेको देखियो ।’ दक्षिण कोरियाले दुनियाँ कोरोना भाइरससँग जुधिरहेका वेला उत्तर कोरियाली मिसाइल परीक्षण सर्वथा गलत रहेको समेत बताएको छ ।– एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]