प्रिमनसुनी गतिविधि सक्रिय :चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना
काठमाडाैं, ८ वैशाख । मौसमविद्ले केही दिनयता प्रिमनसुनी गतिविधि सक्रिय भएको बताएका छन । मौसमविदका अनुसार बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्नु प्रिमनसुनको विशेषता हो । प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने देखिएको छ । यसकै प्रभावले अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्नेछ । प्रिमनसुनमा नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । सोमबार देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ दिउँसोपछि काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्रका धेरै ठाउँमा चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाइएकाे छ ।