चीनले कोरोना भाइरस फैलाएको ट्रम्पको जिकिर

२०७७ बैशाख १९ गते, शुक्रबार

काठमाडौं , १९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ । राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस बनाएर संसारभर फैलाएको आरोप लगाइरहेका बेला नेशनल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले मानव निर्मित नभएको जनाएको हो ।
यद्यपि, उक्त भाइरस जनावरको सम्पर्क वा प्रयोगशाला दुर्घटना केबाट शुरु भएको भन्नेबारे निकायहरूले हेरिरहेको जनाइएको छ । डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सको कार्यालयले कोभिड–१९ को उत्पत्ति प्राकृतिक हो भन्नेमा वैज्ञानिकमा सहमति रहेको जनाएको हो ।
राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको एउटा प्रयोगशालाबाट भाइरस निस्किएको भनेका थिए । चीनले भने ट्रम्पको आरोपको खण्डन गर्दै आएको छ । बिहीवार ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा ट्रम्पले चीनले नै भाइरस फैलाएको जिकीर गर्दै विश्व स्वास्थ्य संगठन चीनको जनसम्पर्क निकायजस्तो भएकोमा उनीहरुलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । चीनले गल्तीले वा कसैले नियोजित उद्देश्यका साथ यो बनाएको हुन सक्ने उनको भनाइ थियो ।
चीनको वुहान शहरमा सबैभन्दा पहिला देखिएको भाइरसबाट संसारका ३३ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]