‘कोरोना भाइरसबिरुद्धको खोप यहीवर्ष आउने संभावना छैन’

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको खोप सन २०२० मै तयार भइनसक्ने बताएको छ । कोरोना भाइरसको खोप निर्माणमा सफता प्राप्त भएको समाचारहरु आइरहेका बेला संगठनले भने सन २०२० मै भने खोप तयार भइनसक्ने बताएको हो ।‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको हो । तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन।’ – डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रयानेले भनेका छन् । उनले ढिलो आएपनि प्रभावकारी खोप बने त्यो कुरालाई सकारात्मक ढंगले लिनुपर्ने बताए । उनले भने -‘भ्याक्सिनको विश्वसनीयतामा कुनै कमी आउन दिनु हुँदैन, ढिलो आए कुनै फरक पर्दैन ।’
यसअघि खोप बनाइरहेको अक्सफोर्ड र अस्ट्राजेनेकालाई डब्ल्युएचओले बधाई दिएको थियो । तर खोपले मात्रै कोरोना भाइरसको अन्त्य नहुने उसले बतउदै आएको छ । खोप विश्वव्यापी र सबै मुलुकमा समान ढंगले पुगेमात्र कोरोना महामारीको अन्त्य गर्नसकिने डब्ल्युएचओको भनाइ छ । यसका बिरुद्ध सबै मुलुक जुट्नुपर्ने स्वास्थ्य संगठनको आग्रह छ । – एजेन्सी