मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना : बाढीपहिरो र डुबानको खतरा

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यतया मौसम बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू(भागका केही स्थानहरुमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज (बिहीबार) पनि पश्चिम नेपालमा भीषण वर्षा हुनसक्ने अनुमान छ । देशका अन्य भागमा पनि हल्का वर्षा हुने महाशाखाको अनुमान छ । भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देशैभर परेकाले आज दिउँसो मेघगर्जन, चट्याङसहित विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबारसम्म देशका विभिन्न क्षेत्रमा भीषण वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले बाढीपहिरो र डुबानको जोखिम बढेको हो ।