पछिल्लो ५० वर्षमा जीवहरूको संख्यामा दुई तिहाइले कमी !

काठमाडौं । वातावरणसम्बन्धी संरक्षणसम्बन्धी वैज्ञानिकहरूले सन् १९७० यता विश्वभर यस्ता जीवहरूको संख्या औसतमा ६८ प्रतिशतले कमी आएको जनाएको छ । विगत ५० वर्षमा चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको बिबिसीले जनाएको छ । वातावरणसम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यसअघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनी दिएको छ ।
बिबिसीका अनुसार विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो । विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ । वैज्ञानिकहरूले यो कमीलाई ’विध्वंसकारी’ भनी व्याख्या गरेका छन् ।
प्रतिवेदन लेखनमा सहभागीहरूले चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनुजस्ता कारणले जीवनहरूको सङख्यामा गिरावट आएको र यो एकदमै डरलाग्दो भएको बताएका छन् । – बीबीसी